तपाईँ सुन्दै हुनुहुन्छः

त्रिवेणिका कृषक सामूहिक पशुपालनमा, गाउँमै स्वरोजगारको अभ्यास

बाजुरा । बाजुराको त्रिवेणि नगरपालिकाका कृषकहरू सामूहिक पशुपालनको अभ्यासमा लागेका छन्।

उत्पादन सँग जोडिने र गाउँमै स्वरोजगार बन्ने उद्देश्य सहित त्रिवेणि नगरपालिका वडा नम्बर-१,२,३ ४ र ६ नम्बर वडाका स्थानीय कृषक फर्म नै दर्ता गरेर सामूहिक पशुपालन व्यवसायमा लागेका हुन्।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराले अनुदानका कार्यक्रम मार्फत कृषकलाई व्यावसायिक बनाउने योजना लागू गरेपछि कुखुरा पालन र भैँसी पालनमा सामूहिक व्यावसायिक अभ्यास शुरु गरिएको विशेष कृषि तथा पशुपालन समूह त्रिवेणी-४का अध्यक्ष तुले अयडिले बताउनुभयो । अध्यक्ष अयडिका अनुसार हाल विशेष कृषि तथा पशुपालन समूहले सामूहिक भैँसीपालन शुरु गरि दूध,दही,मही,र घिउ बजारीकरण गरि आम्दानी गर्न शुरु गरिसकेको छ।

भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाजुराको ९ लाख ९० हजार अनुदान र विशेष कृषि तथा पशुपालन समूहको २ लाख ७७ हजार श्रमदान सहित १२ लाख ६७ हजार रुपैयाँको लगानीमा शिव धाम गाग्राका ११ जना स्थानीय कृषकले भैँसीपालन सुरु गरि सामूहिक उत्पादनमा जोडिने अभ्यासको शुरुवात गरिएको स्थानीय टेकराज गिरिले बताउनुभयो । सुधारिएको आधुनिक गोठमा पहिलो पटक ३ वटा भैँसी राखेर व्यवसायको सुरुवात गर्दा मासिक ५० हजार भन्दा बढी आम्दानी हुने गरेको र थप उन्नत जातका भैँसी खरिद प्रक्रिया थालिएको गिरिको भनाइ छ।

सामूहिक भैँसी पालनलाई आधुनिक तवर बाट सञ्चालन गर्न सुधारिएको गोठ सँगै घाँस काट्ने मेसिन,मही बनाउने मेसिन समेत राखिएको छ। सामूहिक भैँसी पालन सँगै त्रिवेणिका अरू वडाहरूमा समेत सामूहिक व्यवसायको सुरुवात गरिएको छ। लालीगुराँस महिला कृषक समूह मार्फत वडा नम्बर-३ मा सामूहिक कुखुरा पालन व्यवसाय सञ्चालनमा ल्याइएको छ।

२५ जना स्थानीय कृषकको सहभागितामा थालिएको उक्त सामूहिक व्यावसायिक कुखुरा पालनमा पहिलो पटक ल्याइएका करिब एक हजार चल्ला रोगका कारण मरेका र फेरि चल्ला ल्याउने र व्यवसायलाई थप बिस्तार गर्ने गरि तयारी थालिएको लालीगुराँस महिला कृषक समूहकी अध्यक्ष हिउकला कुमारी साउद भण्डारीले बताउनुभयो।  

आधुनिक खोर,दाना,भाँडा सहित आवश्यक सामग्री खरिद गरिसकिएको छ। वडा नम्बर ३ मा मात्र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको ८ लाख अनुदान सहयोगमा अरू २ वटा व्यावसायिक कुखुरा फर्महरू सञ्चालनमा ल्याइएका छन्। 

सामूहिक भैँसी पालन र कुखुरा पालनको बुधबार एक औपचारिक कार्यक्रमका बिच त्रिवेणि नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर थापा,उपप्रमुख कमला कुमारी जैशी न्यौपाने ,वडा नम्बर(४का अध्यक्ष गणेश साउद,वडा नम्बर-३का अध्यक्ष मिन बहादुर भण्डारी,भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराका प्रमुख सिद्धराज जैशी लगायतले निरीक्षण गर्नुभएको छ।

निरीक्षणका क्रममा नगरप्रमुख कर्णबहादुर थापाले सामूहिक रूपमा व्यावसायिक भैँसीपालन र कुखुरा पालन त्रिवेणी नगरपालिकाको एउटा नयाँ उदाहरणीय अभ्यास भएकाले यसको थप विस्तारमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।  

भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाजुराका प्रमुख सिद्धराज जैशीले सुदूरपश्चिम प्रदेश सरकारको कृषि तथा पशुपालन प्रवर्द्धन गर्ने सोच र भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाजुराको कृषकलाई सामूहिक व्यवसायमा जोडी उत्पादन र आयआर्जन अभिवृद्धि गराई गाउँमै स्वरोजगार बनाउने उद्देश्य अनुरुप सञ्चालित यस्ता कार्यक्रमले गरिखाने किसानलाई सहज हुने भएकाले त्रिवेणिको लगानीले सार्थकता पाएको बताउनुभयो ।

सामूहिक व्यवसायमा जोड्ने भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराको जिल्लामै यो पहिलो प्रयास भएकाले काम गर्ने कृषकहरूका लागि यस्ता कार्यक्रमले निरन्तरता पाउने कार्यालय प्रमुख जैसिले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button