युद्ध भूमि इरानबाट भारत हुँदै बुटवल फर्किए दुई युवा
‘युद्धको त्रास थियो, दूतावास र घरपरिवारको सल्लाहमा घर फर्केका हौँ’

रुपन्देही । इजरायल र इरानबीच द्वन्द्व चर्किएपछि इरानमा रहेका दुई युवा बुटवलस्थित घरमा आइपुग्नुभएको छ ।
नेपाल सरकारको अनुरोधमा भारत सरकारले उद्धार गरेका मध्ये दुई जना बुटवलका हुनुहुन्थ्यो । भारतस्थित नेपाली दूतावासले मङ्गलवार साँझ ट्विट गर्दै उहाँहरू घर फर्किन लागेको जनाएको थियो ।
इरानको मसादबाट भारतले उद्धार गरी ल्याएका उहाँहरू बुधबार कपिलवस्तुको कृष्णनगर नाका हुँदै आउनुभएको हो ।
उपमहानगरपालिका वडा नं १२ का गणेशप्रसाद पोखरेल र वडा नं १३ का सुमन गैरे घरमा बुटवलस्थित घरमा आइपुग्नुभएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो ।
“हामीले बेलहिया नाकामा उहाँहरूलाई पर्खिएर बसेका थियौँ, तर, कृष्णनगर नाका हुँदै घर आइपुग्नुभएछ ।” उहाँले भन्नुभयो । प्रजिअ घिमिरेले पोखरेलको परिवारसँग आफूले कुराकानी गरेको र राम्रैसँग घरमा आइपुगेको प्रतिक्रिया पाएको बताउनुभयो ।
आफ्नो घर आइपुगेका दुई जना बुटवलवासीलाई बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेले भेट गर्नुभयो । पोखरेल र गैरेलाई घरमा पुगेर भेटघाट गरेको नगर प्रमुख पाण्डेले जानकारी दिनुभयो ।
उहाँहरूले नेपाल सरकार परराष्ट्र मन्त्रालयले गरेको सहयोग र पहलका कारण आफूहरू जोखिमपूर्ण स्थानबाट आफ्नो घर सकुशल आइपुगेको बताउनुभयो।
नगर प्रमुख पाण्डेयले स्थानीय सरकारका रूपमा हुनसक्ने सहयोग र भूमिका निर्वाह गर्ने संघ सरकारसँग आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
१० वर्षदेखि रोजगारीको सिलसिलामा इरान रहेको र आउने जाने गर्दै आएको सुमनले बताउनुभयो । इरानमा युद्ध भए पनि आफूहरूलाई खासै अप्ठ्यारो भने नपरेको सुमनको भनाइ छ । “हामीलाई साह्रै अप्ठ्यारो पनि परेको थिएन । प्रत्यक्ष हमला पनि देखिएन । पछि ठूलो अप्ठ्यारो आइलाग्छ कि भनेर भारतीय दुतावासमार्फत् फर्किएका हौँ । तत्काल नफर्किने पनि सोचेको थियौँ । त्यहाँ हामीलाई सहयोग पनि राम्रै थियो । तर सबैको सल्लाहमा आयौँ”, उहाँले भन्नुभयो । सुमन गत मार्चमा घर आएर इरान फर्किनुभएको थियो ।
युद्ध भूमिबाट घर फर्केका गणेशले पनि ठूलो समस्या भोग्न नपरेको बताउनुभयो । त्यहाँको सरकारी क्याम्पमा काम गर्ने गणेशसँग पाल्पा र अर्घाखाँचीका पनि सँगै काम गर्थे । ‘खासै चहलपहल नभए पनि क्यापिटल सिटी तेहरानमा पनि युद्धको त्रास थियो । हामी फर्किने बेलासम्म जोखिम भइसकेको थिएन, बजार जाँदा आउँदा पनि हामीलाई कसैले अप्ठ्यारो पारेको थिएन । तर सबैको सल्लाहमा आएका हौँ”, गणेशले भन्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्