तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री अन्तर–प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिता भोलिदेखि जनकपुरधाममा 

जनकपुरधाम । मधेश प्रदेश सरकारको आयोजनामा भोली देखि मुख्यमन्त्री अन्तर–प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिता हुने भएको छ । 

सात प्रदेशका खेलाडीहरू सहभागी हुने सो प्रतियोगिता १४ गतेसम्म चल्ने आज जनकपुरधाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा मधेश प्रदेशका खेलकुद परिषद्का सदस्य–सचिव शिवजी प्रसाद कानूले जानकारी दिनु भएको हो । 

भोली दिउँसो १२ः १५ बजे मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रतियोगिताको उद्घाटन गर्नु हुनेछ । प्रतियोगितामा मधेश प्रदेश अतिरिक्त कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली र सुदूर पश्चिम प्रदेशको सहभागिता रहने भएको आयोजकले जनाएको छ ।  

प्रथम मुख्यमन्त्री अन्तर–प्रदेश प्रतियोगितामा सात प्रदेशका गरेर ८४ जना खेलाडी तथा अफिसियल, निर्णायक र अन्य गरेर ५२ जनाको सहभागिता रहने भएको छ । कबड्डी प्रतियोगिताको हब मानिने मधेश प्रदेशमा प्रदेश सरकारले पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगितामा विजयी टिमलाई २५ हजार नगद, पदक, प्रमाणपत्र तथा शिल्ड रहेको प्रदान गरिनेछ ।  

यसैगरि द्वितीय हुने टिमलाई २० हजार नगद, पदक, प्रमाणपत्र, शिल्ड तथा तृतीय हुनेलाई १५ हजार नगद, पदक, प्रमाणपत्र तथा शिल्ड प्रदान गरिने भएको छ । यसका साथै खेलाडीहरूलाई दैनिक रुपमा दैनिक भत्ता, भाडा, आवास तथा भोजनको व्यवस्था खेलकुद सम्बन्धि प्रदेश सरकारले बनाएको निर्देशिका अनुसार प्रदान गरिने भएको सदस्य सचिव कानूले जानकारी दिनु भयो ।   

मधेश प्रदेश सरकारले कबड्डी प्रतियोगिताका लागि चालु आर्थिक वर्षमा ५० लाख रकम विनियोजन गरेको छ । प्रतियोगिता अवध मिथिला सांस्कृतिक धर्मशालाको सभाहलमा हुने भएको छ । प्रतियोगिता अन्तर्राष्ट्रिय मान्यता अनुसार म्याटमा खेलाइने भएको छ । 

यसै बीच खेलमा सहभागी हुनका लागि विभिन्न प्रदेशबाट आउनु भएका खेलाडीहरूले प्रदेश सरकारले आयोजना गरेको खेलको पुरस्कार राशि थोरै भएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । उहाँहरूले मुख्यमन्त्रीको नाउँमा रहेको प्रतियोगिताको गरिमा पुरस्कार रकमले घटाउने जनाएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button