राष्ट्रिय गौरवका आयोजनाहरूमा तत्काल प्रमुख नियुक्त गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले राष्ट्रिय गौरवको आयोजनाहरूमा तत्काल आयोजना प्रमुख तोक्न सरकारलाई निर्देशन दिएको छ ।
सुनकोशी मरिन डाइभर्सन आयोजनाको कार्य प्रगतिमाथि छलफल गर्न आज बसेको समितिको बैठकले राष्ट्रिय गौरवका आयोजना निर्माण कार्य निमित्त प्रमुखको भरमा छोड्न नहुने भन्दै देशैभरका गौरवका आयोजनाहरूमा प्रमुख तोक्न सरकारलाई निर्देशन दिएको हो ।
बैठकमा आयोजनाका निमित्त प्रमुख बद्री कार्कीले आयोजना सुरु भएको साँढे २ वर्षमा एक प्रतिशत पनि कार्य प्रगति हुन नसकेको बताएपछि सांसदहरुले समयमा कार्य सम्पन्न गर्न नसक्ने निर्माण कम्पनीसँग सम्झौता रद्द गर्नुपर्ने माग राख्नुभयो ।
सांसदहरुले यस्ता ठूला आयोजनाहरू ठेक्का दिँदाको अवस्थामा लाग्ने लागत र समयको किटान गर्नुपर्ने भन्दै कामको सुरुवात नै गर्न नसक्ने निर्माण कम्पनीसँग ठेक्का तोड्नुको विकल्प नभएको भन्दै समितिले स्थलगत अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो ।
समितिका सभापति दीपकबहादुर सिंहले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसँग छलफल गरी आयोजनाका सम्बन्धमा थप निर्णय गरिने जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्