तपाईँ सुन्दै हुनुहुन्छः

बुढीगंगा नगरपालिकाको नाम ‘बार्जु नगरपालिका’ राख्ने निर्णय

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाको नाम ‘बार्जु नगरपालिका’ राख्ने निर्णय निर्णय भएको छ । 

नगरपालिकाको मङ्गलवार सम्पन्न १२औँ नगर सभाले बुढीगंगा नगरपालिकाको नाम ‘बार्जु नगरपालिका’ राख्ने निर्णय निर्णय गरेको हो।

नगरप्रमुख रामबहादुर बानियाँले प्रशासनिक झन्झट तथा ऐतिहासिक सन्दर्भसम्मका कारण स्थानीय बुढीगंगा नदीको नामबाट राखिएको पुरानो नाम हटाइएको बताउनुभयो । “कुनै पनि ठाउँको नाम त्यही क्षेत्रको पहिचान हो। तर जब त्यो नाम अन्य ठाउँसँग मिल्न जान्छ, व्यवहारिक समस्या उत्पन्न हुन्छ।”, उहाँले, भन्नुभयो , “नगरपालिकाको नाम परिवर्तनको मुख्य कारण पनि यही हो।” बुढीगंगा नामकै कारण प्रदेश र संघ तहमा योजना, बजेट तथा पत्राचारमा अन्योल उत्पन्न भएको उहाँले बताउनुभयो । 

उहाँका अनुसार मोरङ जिल्लामा रहेको बुढीगंगा गाउँपालिका र बाजुराकै बुढीनन्दा नगरपालिकासँग नामको समानता हुँदा बुढीगंगाका लागि छुट्याइएको योजना र बजेट अरू ठाउँमा पुग्ने समस्या देखिन थाल्यो। छोटकरीमा लेख्दा ‘बुढीगंगा नगरपालिका’ र ‘बुढीनन्दा नगरपालिका’ दुवैलाई ‘बुनपा’ भनेर चिनिँदा भ्रमको अवस्था थप बढेको छ ।

नगरपालिकाको पाँचौँ नगरसभादेखि नै नाम परिवर्तनको विषयमा छलफल अघि बढाएको र यसको समस्या स्थायी समाधानका लागि कार्यपालिकाले विशेष समिति गठन गरी नाम परिवर्तनको आवश्यकता र वैकल्पिक नामहरूबारे अध्ययन गराएको थियो।उक्त समितिले  ‘समृद्धिका लागि बुढीगंगा विकास कचहरी’ नामक सम्मेलन आयोजना गरी स्थानीय सरोकारवाला तथा नागरिकहरूको राय सङ्कलन गरिएको थियो। अधिकांश सहभागीले नाम मिल्दाजुल्दा आउने समस्या अन्त्य गर्न नयाँ नाम राख्नुपर्नेमा जोड दिनुभएको थियो।

समितिले सङ्कलन गरेका विभिन्न नाममध्ये ‘बाजुरा नगरपालिका’, ‘टाँटे नगरपालिका’, ‘बार्जु बुढीगंगा’ लगायतका नामहरू प्रस्ताव भएको थियो । साही प्रस्तावलाई आधार मानेर ऐतिहासिक र सांस्कृतिक गहिराइ बोकेको ‘बार्जु’ नाममा सहमति भएको हो।

नगर प्रमुख बानियाँले  ‘बार्जु’ नाम केवल नयाँ पहिचान नभई बाजुराको इतिहाससँग गाँसिएको शब्द भएको बताउनुभयो ।  “बाइसे–चौबिसे राज्यकालमा ‘बार्जु’ एक समृद्ध र शक्तिशाली राज्यको केन्द्र थियो। किंवदन्तीअनुसार अहिलेको ‘बाजुरा’ भन्ने नाम पनि ‘बार्जु’ शब्दबाट अपभ्रंश भएर आएको हो। यही ऐतिहासिक सन्दर्भलाई सम्मान गर्दै ‘बार्जु’ नाम पुनः स्थापित गरिएको हो।”, उहाँले भन्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button