तपाईँ सुन्दै हुनुहुन्छः

जयकिसान माविमा प्राविधिक कृषि शिक्षा सुरु, गाउँमै उच्च अध्ययनको अवसर पाएपछि विद्यार्थी उत्साहित

बाँके।बाँकेको नरैनापुर–६ स्थित जयकिसान माध्यमिक विद्यालयमा प्राविधिक धार अन्तर्गत कृषिको बाली विज्ञान विषयमा कक्षा ११ र १२ को पढाइ सुरु भएपछि विद्यार्थीहरू उत्साहित भएका छन्।

घरको आर्थिक अवस्था कमजोर भएकाले पढाइ रोक्ने अवस्था आएको बताउने नरैनापुर–६ का दुर्गेश कुमार मौर्य भन्छन्, “पालिकाले गाउँमै प्राविधिक शिक्षा सुरु गरेपछि भविष्यप्रति आशा पलाएको छ।” खेतीपातीमा आधारित परिवारमा हुर्किएका मौर्यले विद्यालयमा सिकेका कुरा घरमा अभिभावकलाई पनि सिकाउँदै आएका छन्।

पहिले कक्षा १० सम्म मात्र पढाइ हुने विद्यालयमा अब कक्षा १२ सम्मको प्राविधिक शिक्षाको व्यवस्था गरिएको छ। गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहको पहलमा “जयकिसान नरैनापुर की शान, मेरी जान” भन्ने नारासहित कृषि शिक्षाको सुरुवात गरिएको हो।

कक्षा १२ मा अध्ययनरत अनिस हलवाईले गाउँमै बसेर उच्चस्तरीय शिक्षा प्राप्त गर्न पाएकोमा खुसी व्यक्त गरे। शिक्षिका उषा विकका अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहकार्यमा बाली विज्ञान विषय सुरु गरेपछि विद्यार्थीहरूको आकर्षण बढेको छ।

नरैनापुर र राप्ती सोनारीका ग्रामीण क्षेत्रका विद्यार्थीलाई टाढा जान नपर्ने, पढाइ बीचमै नछाड्नुपर्ने अवस्था सिर्जना भएको बताइएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले कृषि प्राविधिक उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यसहित कक्षा सञ्चालन गरिएको बताए। शिक्षा शाखा प्रमुख कृष्ण थारुका अनुसार प्रारम्भमा ३६ विद्यार्थीबाट सुरु भएको कक्षा अहिले ६० जनालाई पुगेको छ।

हाल नरैनापुरमा २१ सामुदायिक, २६ मदरसा र ३ संस्थागत विद्यालय सञ्चालनमा छन्। शिक्षा शाखाका उपप्रमुख कमल केसीका अनुसार विद्यालयमा सिकेका व्यवहारिक कृषि सिपले विद्यार्थीहरू आफ्ना अभिभावकलाई कम्पोस्ट मल, विषादी बनाउने जस्ता सीपमा तालिम दिन सफल भएका छन्।

पालिकामा हाल १ वटा विद्यालयमा कक्षा १२ सम्मको पढाइ सञ्चालनमा रहेको छ भने अधिकांश विद्यालयहरू प्रारम्भिक र माध्यमिक तहसम्म सीमित छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button