विदेशबाट फर्किएका युवाहरूलाई कृषिमा आकर्षित गर्न आवश्यक : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीका लागि बाहिरिने युवा शक्तिलाई नेपालमै रोजगारीको अवसर सिर्जना गर्न कृषि क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउनुभएको छ ।

राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कृषि व्यवसायलाई प्राथमिकतामा राखी युवा केन्द्रित स्टार्टअप कार्यक्रमहरू सञ्चालन गरी युवा जनशक्तिलाई प्रोत्साहन गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले विदेशबाट फर्केका युवाहरूको सीपलाई कृषिमा आकर्षित गर्ने वातावरण बनाउन नीति निर्माता, सरकार र व्यावसायिक संस्थाहरूले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले निमुखालाई न्याय र विपन्नलाई आयको व्यवस्था तथा श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य रहेको भन्दै कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै औद्योगिकीकरणको मार्ग प्रशस्त गरी आर्थिक रुपमा समृद्ध नेपालको निर्माण गर्न सकिने बताउनुभयो ।
राष्ट्रपति पौडेलले नेपालको कृषि क्षेत्रले उपभोगमुखी उत्पादन र न्यून निर्यात क्षमता र उच्च व्यापार घाटाको प्रतिबिम्ब गर्ने गरेको उल्लेख गर्दै अशिक्षित, गरिबी र न्युन आय हुने परिवारको पेशाको रुपमा रहेको कृषि व्यवसायले अहिले परिचय फेरेको बताउनुभयो ।
उहाँले राजनीतिक परिवर्तनपछिको अबको मुलुकको आवश्यकता भनेको आर्थिक समृद्धि, विकास र शान्ति भएको भन्दै मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति निर्माता, योजनाविद् र सरकारले विशेष कार्यक्रम ल्याउन अति जरुरी रहेको बताउनुभयो ।

सो अवसरमा राष्ट्रपति पौडेलले कोशी प्रदेशबाट आर्य कृषि फर्मका सुरेश कुमार मेहता, कोशी प्रदेशकै रमेश कृषि फर्मका रमेश साह, मधेश प्रदेशबाट शम्भुनाथ माछा फार्मका भरत कुमार यादव, मधेश प्रदेशबाट निजगढ केरा एग्रिकल्चर फार्मका हिरा बहादुर थापा मगर, बागमतीबाट श्री कालिका पशु विकास केन्द्रका चेत प्रसाद ढकाल, बागमतीबाटै श्री ग्रिन लाइन एग्रो प्रालिका दयाराम मचामसी, गण्डकीबाट श्री ङवाङहिसी कृषि तथा पशुपन्छी अर्ग्यानिक फर्मका छिरिङ गुरुङ, गण्डकीबाटै श्री मित्र बाटिका कृषि फर्मका बाटुली तिवारी, लुम्बिनीबाट श्री जयपाल मौर्य, लुम्बिनीबाट श्री शान्ति उन्नत पशुपालन तथा माछा फर्म प्रालिका सुवास कुर्मी, कर्णालीबाट श्री गोविन्द ओली र भरतनाथ योगी, सुदूर पश्चिमबाट खप्तड पशुपन्छी तथा कृषि फर्मका प्रेम प्रसाद जोशी र कैलाशेधरी कृषि तथा पोल्ट्री फर्म प्रालिका लोकबहादुर थापालाई सम्मान गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्