हेटौँडा उपमहानगरको २ अर्ब ९० करोडको बजेट सार्वजनिक
'पूर्वाधारदेखि सामाजिक क्षेत्रसम्म प्राथमिकता'
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ९० करोड ३ लाख १० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। चालु आवको तुलनामा बजेट करिब ७ करोड रुपैयाँले बढाइएको हो।

उपप्रमुख राजेश बानियाँले नगरसभामा प्रस्तुत गर्नुभएको बजेटमा संघीय सरकारबाट प्राप्त अनुदान १ अर्ब १९ करोड ५० लाख, आन्तरिक स्रोत ६२ करोड ७६ लाख ८० हजार, राजस्व बाँडफाँटबाट ९२ करोड ७० लाख ५५ हजार, प्रदेश सरकारबाट अनुदान ११ करोड ४५ लाख ७५ हजार र नगर विकास कोषबाट ऋण ३ करोड ६० लाख रुपैयाँको स्रोत उल्लेख गरिएको छ।
वातावरण, शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा प्राथमिकता
हरियाली विस्तार, विपद् न्यूनीकरण, फोहोरमैला व्यवस्थापन, नाला तथा खानेपानी सरसफाइमा ३ करोड १५ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ।
शिक्षा क्षेत्रमा ५ करोड ५१ लाख, स्वास्थ्य सेवामा २ करोड ७८ लाख र महिला तथा समावेशीकरण कार्यक्रमका लागि १ करोड ३३ लाख ३५ हजार रुपैयाँ छुट्टाइएको छ।
भुटनदेवी माविमा ‘मेघा विद्यालय’ निर्माणका लागि ५० लाख, बाल एनआईसियु/पिआईसियु सेवा सञ्चालनमा २ करोड रुपैयाँ लगानी गरिनेछ।
पूर्वाधार र आर्थिक विकासमा विशेष योजना
हेटौँडा–११ मा अटो भिलेज, हेटौँडा–१४ मा वाटर फन पार्क, हेटौँडा–१० मा गङ्गा आरती स्थल निर्माण, एकीकृत बसपार्क तथा टर्मिनल सञ्चालनमा ४ करोड रुपैयाँ छुट्टाइएको छ।
आर्थिक विकास तथा स्वरोजगारमा ४ करोड ६९ लाख ७ हजार र ‘मेयरसँग स्वरोजगार’ कार्यक्रमअन्तर्गत सीप विकास तालिमका लागि ९८ लाख ३६ हजार विनियोजन गरिएको छ।
खेलकुद र संस्थागत सुधारमा पनि बजेट
अन्तर्राष्ट्रिय महिला फुटबल, मेयर कप, खेलमैदान निर्माण, सीप विकासलगायतका कार्यक्रमका लागि २ करोड ५५ लाख रुपैयाँ छुट्टाइएको छ।
प्रशासन व्यवस्थापन र सुशासनमा क्रमशः ५९ करोड ६५ लाख र ३ करोड ८८ लाख विनियोजन गरिएको छ।
हेटौँडाको बजेटले पूर्वाधार विकास, सामाजिक समावेशीकरण र वातावरणीय संवेदनशीलता तथा नागरिक सहभागिता प्राथमिकतामा राखेको उपमहानगरले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्