राजश्व कार्यालय भद्रपुरद्वारा ११ महिनामा २ अर्ब ९१ करोड राजस्व सङ्कलन
झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/०८२ को ११ महिनामा रु. २ अर्ब ९१ करोडबढी राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेका अनुसार कार्यालयले चालु आ.व.को ११ महिनामा विभिन्न शीर्षकमा २ अर्ब ९१ करोड ९८ लाख ३६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ८५ प्रतिशत हो । भद्रपुर कार्यालयलाई आन्तरिक राजस्व विभागले साउनदेखि जेठ मसान्तसम्ममा ३ अर्ब ४१ करोड ७ लाख ८८ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य दिएको थियो ।
प्रमुख कर अधिकृत काफ्लेका अनुसार ११ महिनामा कार्यालयले आयकरतर्फ एक अर्ब २६ करोड ५२ लाख ५४ हजार, मूल्य अभिवृद्धि कर (भ्याट)–तर्फ ९८ करोड २८ लाख ६१ हजार, अन्तःशुल्कतर्फ ५५ करोड १६ लाख ६७ हजार, बहाल करबाट दुई करोड ४५ लाख ३८ हजार, ब्याजबापत आठ करोड १६ लाख ८४ हजार स्वास्थ्य सेवा कर बापत ३७ लाख ७१ हजार, शिक्षा सेवा कर बापत ३९ हजार र अन्य कर शीर्षकमा एक करोड २२ हजार रुपैयाँ राजस्व स.कलन भएको छ ।
कार्यालयले स्वास्थ्य सेवा करतर्फ लक्ष्यभन्दा १२५८३ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ भने अन्य कर शीर्षकमा लक्ष्यभन्दा ३१०२ प्रतिशत बढी राजस्व सङ्कलन गरेको काफ्लेले बताउनुभयो ।
कार्यालयले अघिल्लो वर्षको यही अवधिको तुलनामा ९.२५ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । अघिल्ला आ.व.को पहिलो ११ महिनामा कार्यालयले २ अर्ब ६७ करोड २६ लाख ३१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्