आइपिएम प्रविधि मार्फत अकबरे खेती गर्दै सूर्योदयका कृषक
इलाम । सूर्योदय नगरपालिकाले किसानको क्षमता विकास, ज्ञान आदानप्रदान र विषादी न्यून खेती प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालित एकीकृत कीट व्यवस्थापन (आइपिएम) कृषक पाठशाला कार्यक्रम वडा नं १ मकरजुङ र वडा नं १३ लक्ष्मीपुरमा विस्तार गरेको छ ।
नगरपालिकाले सो कार्यक्रम विसं २०७५ देखि कार्यान्वयनमा ल्याएको थियो । यस कार्यक्रमअन्तर्गत प्रत्येक समूहमा २५ जना किसान सहभागी छन् । हाल पाठशालामा अकबरे खुर्सानीको जैविक खेती विषयमा प्रशिक्षण तथा व्यावहारिक अभ्यास जारी रहेको सूर्योदय नगरपालिका कृषि शाखाका प्रमुख प्रज्ञा पोखरेलले बताउनुभयो ।
प्रशिक्षक खेमराज भट्टराईका अनुसार पाठशालामा सहभागी किसानलाई एक यामको अवधिमा बालीको सम्पूर्ण जीवनचक्र हेर्न र सिक्न सक्ने अवसर प्रदान गरिन्छ । सहभागीहरूले खेतबारीमै प्रयोगात्मक सिकाइ गर्दै छन् । “हामीले यसपटक खेतमै सिक्ने, गरिखाने र कम विषादी प्रयोग गर्ने तरिका बुझेका छौँ”, सूर्योदय–१ की कविता सापकोटाले भन्नुभयो । आइपिएम विधिले विषादीको प्रयोग न्यून गर्दै उत्पादनमा गुणस्तर वृद्धि गर्ने भएकाले स्थानीय सरकार यस विधिलाई विस्तार गर्ने तयारीमा रहेको नगरप्रमुख रणबहादुर राईले बताउनुभयो ।
उहाँका अनुसार, नगरपालिकाले आगामी वर्ष अन्य वडामा पनि पाठशाला विस्तार गर्ने योजना बनाएको छ, यसबाट स्थानीयस्तरमै किसान आत्मनिर्भर बन्न सक्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्