निर्माण सम्पन्न अगावै पटक-पटक भत्कियो कुनौरीको पक्की पुल
रामेछाप । सदरमुकाम मन्थली सँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की मोटरेवल पुल भत्किइएको छ ।
निर्माणाधीन अवस्थामा रहेको पक्की पुल निर्माण सम्पन्न नहुँदै भत्किएको छ । मन्थली नगरपालिका–६ को कुनाउरीको भलुवाखोला देखि वडा नं ७ भटौलीको ठेडिखोला जोड्ने तामाकोसी नदिमा निर्माणाधीन अवस्थामा रहेको पुल आइतबार दिउँसो भत्किएको हो ।
पुलको कामले तीव्रता पाइरहेको अवस्थामा उक्त पुलको बिचको भागको एउटा स्ल्याब करिब दुई महिना अगाडि भाँचिएको थियो । उक्त स्ल्यावलाई प्राविधिकहरूले मर्मत गर्दा हुने प्रतिवेदन दिएका थिए । यसै बिचमा निर्माण कम्पनीले सो भाँचिएको स्ल्याब पुनर्निर्माण गरिरहेको र सोही अवस्थामा आज दिउँसो पुलको स्ल्याबनै एक्कासी भाँचिएको स्थानीयहरुले बताएका छन् ।
पुलको भाँचिएको स्ल्याब पूर्णरुपमा पिलरबाट भत्किएर भुईँमा झरेको मन्थली नगरपालिका–७ का निवर्तमान वडा अध्यक्ष सुदर्शन प्रसाईँले जानकारी दिनुभयो ।

२०८२ साल भदौ मसान्त सम्म पुल निर्माण गरिसक्ने अन्तिम मिति रहेकाे भएपनि ठेकेदार कम्पनीले भने आगामी असार मसान्त सम्ममा निर्माण सम्पन्न हुने गरि काम भइरहेको जानकारी गराएको थियो । कालिका–कल्पवृक्ष जेभीले निर्माण गरिरहेको उक्त पुल खसेपछि लामो प्रतीक्षामा रहेका सर्वसाधारण र स्थानीय बासिन्दाहरू समेत चिन्तित भएको मन्थली वडा नं ६ का पूर्व वडा अध्यक्ष गोपाल भाझिले जानकारी दिनुभयो ।
भूगोलको अवस्था समेतलाई हेरेर सडक विभागले २०७७/७८ मा सडक विभागले ठेक्का लगाएको उक्त पुल डिजाइन एन्ड विल्ड प्रकृति भएको पनि जानकारी सडक विभागले गराएको छ । कुल २ सय ३-मिटर लामो उक्त पुल ११ मिटर चौडाइका आधारशिला सहित तीव्र रुपमा निर्माण भइरहेको थियो । पुल निर्माणको काम कुल २२ करोड ५५ लाख ४ हजारमा ठेक्का सम्झौता गरेको थियो । कुल रकमको झण्डै ६०प्रतिशत भन्दा बढी रकम भने निर्माण व्यवसायीले भुक्तानी लिसकेको छ ।
पुल सञ्चालनमा आएपछि मन्थली खुर्कोट सडक हुँदै छोटो दुरीमा मन्थली नगरपालिका–७ भटौली सहित गाल्वा बजार खाँडादेवी र दोरम्बा शैलुङ गाउँपालिका अन्तर्गतका सबै वडाहरूसँगै मन्थली बजारको वैकल्पिक सडकको रुपमा सञ्चालनमा आउने भएकोले उक्त सडकलाई महत्त्वपूर्ण सडकको रुपमा हेरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्