‘सङ्घीयतालाई बलियो बनाउन सङ्घीय कानुन निर्माण भइरहेको छ’
लेखनाथ ,कास्की । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सङ्घीयतालाई बलियो बनाउने गरी सङ्घीय कानुन निर्माण भइरहेको बताउनुभएको छ ।
समाजवादी प्रेस सङ्गठन नेपाल, कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहनुभएका उपाध्यक्ष पाण्डेले सङ्घीयता रहेन भने हामी पुरानै संविधानमा फर्कनुपर्ने अवस्था आउने भएकाले लोकतन्त्रलाई बलियो बनाउन सङ्घीयतालाई बलियो बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “सङ्घीयतालाई कम खर्चिलो र सानो आकारको बनाउन सकिन्छ । लोकतन्त्रको रक्षाका लागि सङ्घीयताको रक्षा गर्न सबै एकजुट भएर सहकार्य र समन्वय गर्नु जरुरी छ ।” युवा बेरोजगारी हुँदा विदेश जाने क्रम बढेकाले उनीहरूलाई स्वदेशमा रोक्न सरकारले युवा लक्षित कार्यक्रम ल्याउन जरुरी रहेकामा उहाँले जोड दिनुभयो ।
संसद्मा यतिबेला महत्त्वपूर्ण विधेयकका बारेमा छलफल भइरहेको जानकारी दिँदै उहाँले सङ्घीय निजामती सेवा ऐन, नागरिकता विधेयक, केन्द्रीय निजामती ऐन लयागतबारेमा छलफल भएको उल्लेख गर्नुभयो । उहाँले सङ्घीयताले लोकतन्त्रलाई बलियो बनाउने भन्दै सङ्घीयताको खर्च घटाउन प्रदेशमा समानुपातिक सांसद हटाउने र पालिकासमेत घटाउन सकिने धारणा राख्नुभयो ।
पार्टीका अध्यक्ष माधवकुमार नेपालमाथि पतञ्जलि योग पीठको जग्गा प्रकरणमा लगाइएको आरोप झुटो र राजनीतिक पूर्वाग्रही भएको बताउँदै पार्टी अध्यक्ष नेपालले उक्त आरोपको विषयमा कानुनी र राजनीति रूपमा सामना गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको वरिष्ठ उपाध्यक्ष पाण्डेले उल्लेख गर्नुभयो । उहाँले ‘भिजिट भिसा’ प्रकरणमा छिट्टै छानबिन समिति गठन हुनुपर्नेमा जोड दिनुभयो ।
दुई ठूला दलको सरकार हुँदासमेत भ्रष्टाचार नियन्त्रण हुन नसक्नु दुःखद भएको बताउँदै पाण्डेले राज्यका तीनै तहमा बढ्दो भ्रष्टाचार नियन्त्रणका लागि सरकारले सक्रियता देखाउनुपर्ने माग गर्नुभयो । महँगीका कारण आम नेपालीमा निराशा छाएको छ, महँगी नियन्त्रण गरेर जनताको मन जित्नसक्नु सरकारको मुख्य उपलब्धि हुनेछ”, उहाँले भन्नुभयो, “भ्रष्टाचार र महँगी नियन्त्रण गरी सुशासन दिन सकियो भने गणतन्त्र विरोधी पक्षले लोकतन्त्रमाथि औँला उठाउने ठाउँ पाउँदैनन् ।”
समाजवादी प्रेस सङ्गठन नेपाल, कास्कीका अध्यक्ष रुद्रबहादुर थापाको अध्यक्षतामा पत्रकार सम्मेलन भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्