युरिया तथा डिएपी मल वीरगन्ज नाका हुँदै भित्रिन थाल्यो,रोपाइँमा सहज हुने
वीरगन्ज । रोपाइँ सुरु हुँदै गर्दा साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनीको युरिया तथा डिएपी मल वीरगन्ज नाका हुँदै भित्रिन थालेको छ ।
रोपाइँको समयमा रासायनिक मलको उच्च माग हुने गरेको र मल आपूर्तिको जिम्मेवारी पाएका साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीले ग्लोबल टेन्डरबाट आयात गरेको युरिया र डिएपी मल क्रमशः वीरगन्ज नाका हुँदै भित्रिन थालेको हो ।
साल्ट ट्रेडिङ कर्पोरेसनले ग्लोबल टेन्डरबाट आयात गरेको एक र्याक युरिया मल वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह आइपुगेको छ । १८ हजार टनको यो कन्साइन्मेन्ट अन्तर्गत वीरगन्ज प्रादेशिक कार्यालयले ७ हजार ६ सय ५० टन मल पाउने साल्ट ट्रेडिङ का मधेश प्रादेशिक कार्यालय वीरगन्ज प्रमुख अमोज लामिछानेले बताउनुभयो । भैरहवा प्रादेशिक कार्यालयले ५ हजार १ सय र विराटनगर कार्यालयले ५ हजार २ सय ५० टन मल पाउनेछन् । वीरगन्ज र भैरहवाको मल वीरगन्ज नाका हुँदै आइरहेको छ ।

रोपाइँ सुरु भएका बेला भित्रिन थालेको मलले किसानको मलको माग धेरै हदसम्म पुरा गर्ने लामिछानेले जानकारी दिनुभयो ।
यसअघि साल्ट ट्रेडिङ कर्पोरेसनले ग्लोबल टेन्डरबाट आयात गरेको २५ हजार टन डिएपी ३० हजार टन युरिया मल वितरण भइसकेको र ३२ हजार ५ सय टन डिएपी र ३० हजार टन युरिया पाइप लाइनमा रहेको साल्ट ट्रेडिङका मधेश प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख अमोज लामिछानेले बताउनुभयो ।
पाइप लाइनमा रहेको डिएपी र युरिया आइपुगेपछि धेरै हदसम्म मलको माग धान्ने दाबी लामिछानेले गर्नुभयो ।
यता असारे धानबाली लाई लक्षित गर्दै कृषि सामग्री कम्पनीको युरिया मल पनि वीरगन्ज भित्रिन थालेको छ । कम्पनीको मधेश प्रादेशिक कार्यालयका प्रमुख दुर्गा पाण्डेले कोलकाता बन्दरगाहबाट युरिया मल बोकेको एक रेलवे र्याक वीरगन्ज आइपुगेको बताउँदै २१ हजार ५ सय टन युरिया मल र ९ हजार ५ सय टन डिएपी वीरगन्जबाट मधेश,बाग्मती र गण्डकी प्रदेशलाई वितरण गरिने बताउनु भयो ।
यसअघि ३० हजार टन युरिया कृषि सामग्री कम्पनीले भित्र्याइ सकेको छ भने २५ हजार टन डिएपी र ३० हजार टन युरिया पाईपलाईनमा रहेको कृषि सामग्री कम्पनी मधेश प्रादेशिक कार्यालयका प्रमुख दुर्गा पाण्डेले जानकारी दिनुभयो ।
हाल आयात भई सकेको र र नयाँ भित्रिन लागेको मलले मधेश, बागमती र गण्डकी प्रदेशका जिल्लामा युरिया मलको सहज उपलब्धता हुने दाबी पाण्डेले गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्