तपाईँ सुन्दै हुनुहुन्छः

वैदेशिक रोजगारः परदेशमा झरेका आँसु, आफ्नै माटोमा भेटिएको आत्मसम्मान

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाका बेल बहादुर थापा २०६० साललाई कहिल्यै बिर्सिन सक्नुहुन्न । उक्त साल उहाँ उज्यालो भविष्यको कल्पनामा १ लाख ऋण काढेर मलेसिया उत्रिनुभएको थियो। परिवारका आँखामा आशा थियो, उहाँको आँखामा सपना । परदेश पुगेपछि भने त्यो सपना नझर्ने घामझैँ बल्न थाल्यो, न त शीतल छाँया थियो, न त साहुको मानवीय व्यवहार।

“कम्पनीमा पुगेदेखि नै साहुको हप्कीदप्की सुरु भयो । काम पाइएन । नेपाल फर्किन्छु भन्दा कुटिहाल्थे,” कहालिलाग्दो दिन सम्झिँदै उहाँ भन्नुहुन्छ, “जिउँदै स्वदेश फर्किन सफल भएँ। त्यो समय सम्झिँदा जिउ सिरिङङ्ग हुन्छ।” आँखाभरि आँसु लिएर फर्किएको दिन नै थापाले निर्णय गर्नुभयो– आफ्नै देशमा कर्म गर्नेछु। अनि ऋण खोजेर होटल सञ्चालन गर्न थाल्नु भयो । होटल संगै अहिले अटोबाट मात्र मासिक ४० हजार रुपैयाँ भन्दा बढी कमाइरहनुभएको छ। बिहान झिसमिसेमै उठ्नुहुन्छ। दिनभरि अटो गुडाउनुहुन्छ। बेलुका घर फर्किनुहुन्छ, आत्मसम्मानको कमाई सहित ।

देशमा नै दुःख गरेर भएपनि छोरा–छोरीलाई उच्च शिक्षामा पढाइरहेको छु,” उहाँ भन्नुहुन्छ, “तर आफ्नो माटोमा बाँच्न पाउनु भन्दा ठूलो कमाइ होइन रहेछ। विदेश जानु मेरा लागि भूल नै भयो।”राम्रो रोजगारी र आकर्षक तलब पाउने आशमा विदेश जाने तर पीडा बोकेर फर्किने हजारौँ नेपालीमध्ये बेलबहादुर एक प्रतिनिधि पात्र हुनुहुन्छ। झापाकी रञ्जना लिम्बू ९नाम परिवर्तन०को त कथा झनै कहालीलाग्दो छ । घरको जिम्मेवारी सम्हाल्न कुवेत पुग्नुभएकी उहाँले साहुबाट मानसिक र यौन उत्पीडन नै सहनुप¥यो।

पहिले पनि केही समय विदेश गएर फर्किनुभएकी रञ्जना दोस्रो पटक अझै राम्रो कमाई हुने आशमा विदेश जानुभएको थियो। भारतीय बाटो हुँदै घरेलु कामदारका रूपमा २०७१ सालमा कुबेत पुग्नुभयो। सुरुमा काम राम्रै थियो। तलब पनि नियमित आउँथ्यो । केही महिनापछि भने विभिन्न बहानामा साहुले यातना दिन थाले। “साहु एक्कासि परिवर्तन भए। तलबको त कुरो छोडौँ। कसैसँग पनि भेटघाट र सम्पर्क पनि गर्न दिन छाडे। कुटपिट गर्ने, चुरोटको ठुटाले पोल्ने गरेर यातना दिन थाले,” उहाँले भन्नुभयो, “बल्लतल्ल भागेर ज्यान बचाउन सफल भएँ। अब नेपालमा नै बसेर केही गर्ने योजना छ।”

ताप्लेजुङकै तुलसी पौडेलको भने कथा फरक छ । उहाँले ५ वर्षसम्म वैदेशिक रोजगारीका क्रममा दुबई काम गरेर बिताउनुभयो। काम पनि राम्रो थियो, कमाई पनि राम्रै“ उहाँको भनाइ छ। पौडेल अहिले विदेशमा सिकेको ज्ञान, सीप र अनुभवलाई व्यापारको रुपमा अगाडि बढाउनुभएको छ।

पछिल्लो समय थुप्रै नेपाली युवाहरू कामको खोजीमा विदेश गइरहेका छन्। विदेश गएका मध्ये अधिकांश भनेअनुसार कमाई नभएर फर्किन बाध्य छन्। विशेषगरी ज्ञान, सीप र दक्षता नहुँदा उनीहरू समस्यामा पर्ने गरेका छन्। खाडी मुलुक जानेहरूलाई बढी समस्या हुने गरेको छ। केही भने राम्रै आन्दानी गर्न सफल भएका छन्। विदेशको कमाईले जीवनयापनमा सुधार भएका र स्वदेश फर्किएर विदेशमा सिकेको सीपलाई सदुपयोग गरेर काम गर्नेहरू पनि समाजमा प्रशस्त छन्।

अवैध रूपमा दलालको प्रलोभनमा परेर विदेश जाँदा समस्या हुने गरेको छ। उनीहरूले विभिन्न यातना भोग्ने मात्र होइन ज्यान नै जाने गरेको छ। विदेश जाने प्रक्रिया बारे थाहा नहुँदा ठगिने र दुःख पाउने गरेका छन्।वैदेशिक रोजगार ऐन, २०६४ ले कामदारले विदेशमा पाउने रोजगारीलाई वैदेशिक रोजगार भनी परिभाषित गरेको छ। यद्यपि भारतमा काम गर्न जानुलाई वैदेशिक रोजगारीको कानूनी दायरामा समावेश गरिएको छैन। नेपाल सरकारले संस्थागत रूपमा १ सय ११ वटा देशलाई वैदेशिक रोजगारीको लागि खुला गरेकोमा हाल अफगानिस्तान, इराक र लिवियामा रोक लगाइएको छ। व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा जाने प्रयोजनका लागि १ सय ७८ वटा देश खुला छन्।

प्रतिवर्ष करिब ५ लाखभन्दा बढी नेपाली श्रम बजारमा प्रवेश गर्ने गरेको वैदेशिक रोजगार विभागको तथ्याङक छ। देशमा सीमित रोजगारको अवसर, गरिबी लगायत कारणले वैदेशिक रोजगारी प्रति आकर्षित हुने गरेका छन्। नेपालबाट दैनिक दुई हजार भन्दा बढी युवा रोजगारका लागि विदेशिने गरेका छन्।

आर्थिक वर्ष ०६३/६४ देखि ०८१/८२ को वैशाख सम्म नेपालबाट श्रम स्विकृति लिएर वैदेशिक रोजगारमा जानेको संख्या ८३ लाखभन्दा बढी छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको साउनदेखि चैत मसान्तसम्म ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ। सोही अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या तीन लाख ५८ हजार २२ छ । यस्तै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने २ लाख ४९ हजार ६ सय ५२ जना पुगेको राष्ट्र बैंकको तथ्यांक छ।

सरकारको प्रयास

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनका लागि तीन तहका सरकारले विभिन्न नीति तथा योजनासहित काम गरिरहेका छन्। संघीय, प्रदेश र स्थानीय सरकारको सहकार्यमा सुरक्षित आप्रवासन ९सामी० कार्यक्रमसँग सहकार्य गरी सूचना तथा परामर्श, कानुनी सहयोग, मनोसामाजिक परामर्श, वित्तीय साक्षरता र सीप विकास तालिम उपलब्ध गराउन वैदेशिक सहायता समेत प्रदान गर्ने गरिएको छ।

रोजगारीका क्रममा ठगिएपछि र समस्या परेपछि उद्धार र सहयोगका लागि हारगुहार गर्नुपर्ने अवस्था आउन नदिन वैदेशिक रोजगार र श्रम स्वीकृतिबारे सही सूचना र जानकारी थाहा पाएमा समस्यामा कमी आई वैदेशिक रोजगारी सुरक्षित, मर्यादित र व्यवस्थित हुने गरी कार्य गरिरहेको वैदेशिक रोजगार विभागले जनाएको छ। नेपालमा वैदेशिक रोजगार शिक्षा, स्वास्थ्य, पोषण, आवास तथा स्थानीय आय आर्जनमा योगदान पुगी गरिबी घटाउने प्रमुख कारण बनेको छ। विदेशमा आर्जित रकम र सीपले स्वदेशमा उद्यम र स्वरोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका निर्वाह गर्न समेत सरकारले काम गरिरहेको छ।

कोशी प्रदेशमा वैदेशिक रोजगारको अवस्था
कोशी प्रदेशमा पनि रोजगारीका लागि विदेश जानेहरूको संख्या उल्लेख्य छ। प्रदेशमा आर्थिक वर्ष २०८०÷८१ मा मात्र १ लाख ६० हजार ६७२ जनाले श्रम स्वीकृति लिएका थिए। त्यसमध्ये २३ हजार ६ सय २० जना महिलाको संख्या छ । श्रम स्वीकृति लिनेमा सबैभन्दा बढी झापाबाट २३ हजार ९ सय ४९ जना रहेका छन् भने सबैभन्दा कम तेह्रथुमबाट ३ हजार २ सय ४८ जना छन्।

कोशीमा पछिल्लो तीन आर्थिक वर्षमा वैदेशिक रोजगारिका कारण ७ सय ७४ जनाले ज्यान गुमाउनु परेको छ। सो तीन वर्षको अवधिमा २ सय ७३ जना अंगभंग भएको वैदेशिक रोजगार विभागले जनाएको छ।

ताप्लेजुङको फुङ्लिङ स्थित पाथीभरा बहुमुखी क्याम्पसमा समाजशास्त्रका सहप्राध्यापक युवराज बस्नेत नेपालमा वैदेशिक रोजगार शिक्षा, स्वास्थ्य, पोषण, आवास तथा स्थानीय आयआर्जनमा योगदान पुगी गरिबी घटाउने प्रमुख कारण बनेको बताउनुहुन्छ। तर पनि वैदेशिक रोजगारले युवाशक्तिको अभाव विकराल बन्दै जाँदा देशमा नै दिर्घकालीन असर पर्ने देखिएको उहाँको भनाइ छ। उहाँका अनुसार यसले सामाजिक मुल्य मान्यतामा समेत परिर्वतन हुन थालेको छ।

वैदेशिक रोजगारीलाई सहज र व्यवस्थित बताउन प्रदेश सरकारले काम गरिरहेको छ । वैदेशिक रोजगारलाई ब्यवस्थित बनाउन कोशी प्रदेशका १४ जिल्लामा नै सुरक्षित आप्रवासन (सामी) कार्यक्रमसँग कोशी सरकारले सहकार्य गरिरहेको छ। १ सय ३७ वटै पालिकामा यो कार्यक्रम सञ्चालनमा छ। हाल वैदेशिक रोजगारका लागि जानेलाई मनोपरामर्श दिने काम भइरहेको सुरक्षित आप्रवासन ९सामी० का कार्यक्रम संयोजक रोहित विश्वकर्माले जानकारी दिनुभयो।

“वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित एवं शोषणरहित बनाउँदै वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको सही सदुपयोग गरी देशभित्रै रोजगारीको अवसर सिर्जना गर्ने तथा आयआर्जनमा वृद्धि गरी भविष्यमा सहज जीविकोपार्जन गर्ने गराउने र सामाजिक रूपमा सम्मानित भएर बाच्ने आधार तयार पार्ने यस कार्यक्रमको मुख्य उद्देश्य हो,” उहाँले भन्नुभयो, “सोही अनुसार काम गर्दै आएका छौँ।”

प्रदेश सरकारले युवाहरू विदेसिने क्रमलाई रोक्नसमेत विभिन्न योजना ल्याएको छ। प्रदेशभित्र नै रोजगारीका अवसरहरू सिर्जना गरेर युवालाई विदेश जानबाट रोक्ने र जान चाहनेलाई पनि सहज बनाइदिने गरिएको छ । श्रम तथा रोजगार कार्यालय विराटनगरले वैदेशीक रोजगारमा गएर फर्केर पुनःजान चाहनेलाई श्रम स्वीकृती दिने, व्यक्तिगत रुपमा जानेलाई पनि श्रम स्वीकृती दिने गरेको छ।

कार्यालयले औद्योगिक, ब्यापारिक, शैक्षिक एवं सवै प्रकारका प्रतिष्ठानहरु र श्रमिकको हितमा काम गदै आएको श्रम तथा रोजगार शाखा विराटनगरका वरिष्ठ श्रम अधिकृत पुष्पराज कटवाल बताउनुहुन्छ ।त्यस्तेै कार्यालयले प्रतिष्ठान र श्रमिक बीचको विवाद समाधान गर्ने, विवाद समाधान नभई मुद्दा दर्ता भएमा सुनुवाई गरी फैसला गर्ने अर्धन्यायिक निकायको काम समेत गर्ने गरेको अधिकृत कटवालले बताउनुभयो ।

वैदेशिक रोजगारमा ताप्लेजुङ

नौ स्थानीय तह रहेको ताप्लेजुङमा पनि धेरै युवाहरु विदेशिएका छन्। ताप्लेजुङबाट आधिकारिक रूपमा बैदेशिक रोजगारमा जानेको संख्या २०७९/८० मा ४ हजार ५ सय ९५, २०८०/८१ मा ४ हजार ६२ र २०८१/८२ मा ३ हजार ७ सय ४ जनाले श्रम स्वीकृति लिएका छन्। जिल्लामा पछिल्लो तीन वर्षमा बैदेशिक रोजगारीमा मृत्यु हुनेको संख्या १२ जना रहेको छ। अंगभंग हुनेको संख्या ७ रहेको विभागले जनाएको छ।

बैदेशिक रोजगारलाई ब्यवस्थित बनाउन स्थानीय तह पनि सक्रिय भएर लागेको छ । पालिकाको स्रोतले रोजगारी पर्याप्त दिन नसकिने भएकाले वैदेशिक रोजगारका लागि कानुनी परामर्श सहित सीप प्रदान गरेको मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्त बहादुर कार्की बताउनुहुन्छ।

यता फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बु भौगोलिक जटिलता रहेको क्षेत्रमा पालिकाले गर्न सक्ने काम पालिकाले गरिरहेको बताउनुहन्छ। युवालाई आधुनिक कृषि प्रणालीमा कसरी जोड्न सकिन्छ भनेर पालिकाले क्यानडा र आयरलैण्डको कृषि विज्ञलाई परामर्शका लागि बोलाएर युवालाई कृषिमा आत्मनिर्भर हुन सिकाएको बताउनुहन्छ। पालिकामा उद्योग कलकारखाना पालिकाको क्षमता भन्दा बाहिर रहेकोले युवालाई दक्षता प्रदान गर्न हाइड्रो इलेक्ट्रोनिक, बाली विज्ञान र भेटेरिनरी शिक्षामा पालिकाले जोड दिन थालेको लिम्बुले बताउनुभयो।

ताप्लेजुङमा यस चालु आर्थिक वर्ष देखि फुङलिङ नगरपालिकमा भने पालिका र परामर्श कार्यक्रम ९सामी० संग सहकार्य भएको छ। पालिकाले बैदेशिक रोजगारमा जानेलाई मनोसामाजिक परामर्श दिने, सुचनामा पहुँच, न्यायमा पहुँच,सीप विकास तालिम, वित्तीय साक्षरता लगायतका काम सञ्चालन गर्ने योजनामा नगरपालिका रहेको उपमेयर भिमा ओझाले जानकारी दिनुभयो।

फुङलिङ नगरपालिकाले बैदेशिक रोजगारिका लागि परामर्श साथै जिल्ला प्रशासन कार्यालयमा कार्यालय स्थापना गरेर जिल्लाका ६१ वटै वडाका सेवाग्राहीलाई बैदेशिक रोजगारिका लागि जाने परार्मशलगायत सेवा प्रदान गरेका छन्।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका, मिरिङ्देन गाउँपालिका, फक्ताङलुङ गाउँपालिका, पाथीभरा याङ्बरक गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकले आगामी आर्थिक वर्ष २०८२/८३ देखि सामी कार्यक्रमसँग सहकार्य गर्ने जानएका छन्।

वैदेशिक रोजगारीको प्रभाव

विदेशमा आर्जित रकम र सीपले स्वदेशमा उद्यम र स्वरोजगारी सिर्जनामा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको भए पनि केही परिवारमा विखण्डन र विचलन बढेको, कृषियोग्य जग्गाजमिन बाँझो रहेको, गाउँमा वृद्धवृद्धा तथा बालबालिका अभिभावकको मायाबाट बन्चित हुने गरेका घटना सार्वजनिक हुन थालेका छन् ।

ताप्लेजुङका लिम्बुको मलेसियामा रङरोगनको काम गर्ने क्रममा ज्यान गयो । २० तला भन्दा अग्लो भवनबाट खस्दा केशवको घटना स्थलमा नै ज्यान गयो । केशवको निधन हुदा छोरी मात्र साढे तिन वर्षको थिइन् । केशव बितेसंगै केहि वर्षमा उनको श्रीमतिले दोस्रो विवाह गरे । आमाको विवाह पछि छोरी मावली त कहिले घर गदै बस्न थाल्यो । बुबाको मायाबाट बन्चित त हुनै प¥यो तर आमासंगै बसेर बाल्यकाल विताउन समेत पाइन् । यी त केहि प्रतिनिधी घटनाहरु मात्र हुन । बैदेशिक रोजगारका कारणले समाजमा पारिवारीक समस्या विकराल बन्दै गएको छ । युवा शक्ति विदेश पलायन हुन थालेसंगै गाउँघरमा बच्चा जन्मदा अस्पताल र मृत्यु हुँदा घाटसम्म पु¥याउन हम्मेहम्मे परेको ग्रामिण महिलाको क्षेत्रमा काम गर्नुहुने कल्पना सिटौला बताउनुहन्छ ।

अव के आवश्यकता

नेपालमा वर्तमान अवस्थामा युवाका लागि वैदेशिक रोजगारी बाध्यता बनेको छ। सकभर युवालाई देशमा रोक्नका लागि तीन तहका सरकारले नै आधुनिक कृषि उद्यम,पर्यटन उद्यम,आइटी उद्यमलाई जोड् दिन सकिएको खण्डमा पनि युवालाई केहि मात्रामा देशमा रोक्न सकिने उद्यमशिलता क्षेत्रमा लामो समय देखि काम गरिरहेका ताप्लेजुङका नरेन्द्र कटुवाल बताउनुहन्छ । देशमा युवालाई रोक्नका लागि स्थानिय तह देखि संघिय सरकारले जिल्ला वा कुनै स्थानियको सम्भावनाको खोजी गरी योजना बनाउन सके मात्र पनि युवालाई रोजगारी दिन सकिने उहाँको भनाई छ ।

युवा रहरले नभई बाध्यतावश कामका लागि विदेश जानु परेमा वैदेशिक रोजगारीको क्षेत्रमा समग्र प्रक्रिया बुझेर तथा सीप सिकेर, श्रम स्वीकृतिको प्रक्रिया थाल्दा आफूलाई लाग्ने शुल्कको बारेमा पूर्ण जानकारी राखी अनावश्यक रकम कसैलाई पनि दिनु हुदैन। वैदेशिक रोजगारको क्षेत्रमा भएका थुप्रै बेथितिको अन्त्य सरकार एक्लैको प्रयासले मात्र सम्भव हुदैन। वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरकारले गरिरहेको पहलमा सर्वसाधारण, म्यानपावर कम्पनी, अभिमुखीकरण संस्था, स्वास्थ्य परीक्षण संस्था एवम् सरोकारवाला सबैले हातेमालो गर्नुपर्ने हुन्छ ।

वैदेशिक रोजगारको क्षेत्रमा भएका थुप्रै बेथितिको अन्त्य सरकार एक्लैको प्रयासले मात्र सम्भव हुँदैन। वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरकारले गरिरहेको पहलमा सर्वसाधारण, म्यानपावर कम्पनी लगायत सबै सरोकारवाला निकाय जिम्मेवार बन्नु पर्ने समेत देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button