तपाईँ सुन्दै हुनुहुन्छः

मिथिलाञ्चल क्षेत्रका मधुश्रावणी पर्व शुरु

जनकपुरधाम । मिथिलाञ्चल क्षेत्रका प्रसिद्ध पर्वको रुपमा रहेको मधुश्रावणी पर्व आज देखि शुरु भएको छ । नव विवाहिता कन्याहरूले  यो पर्व मनाउने चलन रहेको छ ।  

१३ दिनसम्म चल्ने सो पर्वमा नवविवाहित कन्याहरूले भगवान् शिव, पार्वती तथा नाग देवताको पूजा गर्छन् । मधुश्रावणी पर्वमा विशेष अनुष्ठानमा नवविवाहित कन्याहरू भगवानसँग आफ्नो दाम्पत्य जीवन सुखमय तरिकाले व्यतीत होस् भन्ने कामना गर्दछन् ।  

मधुश्रावणी पूजाको समयमा नवविवाहित कन्याहरू रातो, पहेलो, निलो साडी, गरगहना सहितका शौभाग्य सूचक सामाग्रीहरू लगाएर परम्परागत लोकगीत गाउँदै आफ्ना साथीहरूको समूह बनाएर साँझको समयमा घर नजिकको उद्यान वा बगैँचाबाट फूल–पात टिपेर ल्याउने गर्दछन् । टिपेको फूल तथा पातहरू डालामा राखेर आँगन वा घरको छतमा राखेर सोही फूल–पातले भोली पल्ट बिहान शिव, पार्वती तथा नाग देवताको पूजा गर्ने प्रचलन रहेको हो ।

नवविवाहिता कन्याहरू मधुश्रावणी अवधिमा सात्विक भोजन ग्रहण गर्छन् । यो पूजा लगातार १३ दिनसम्म गरेर साउन महिनाको शुक्लपक्षको तृतीया तिथिमा विशेष पूजा अर्चना गर्दै विसर्जन गर्ने चलन रहेको छ । 

यो व्रतको माध्यमले महिलाहरू अखण्ड सौभाग्यवतीका साथै श्रीमान्को दीर्घायुको कामना गर्छिन् । व्रतको प्रारम्भिक दिनमा नवविवाहिताहरूको ससुरालीबाट १३ दिनको व्रत सामाग्री तथा सूर्यास्त हुनु अगाडी प्रतिदिन हुने भोजन सामग्री पनि आउने गर्दछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button