तपाईँ सुन्दै हुनुहुन्छः

क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क दिने स्वास्थ्य मन्त्री पौडेलको निर्णय 

काठमाडौं I अब क्यान्सर उपचारमा प्रयोग हुने दुर्लभ र अत्यावश्यक औषधि निःशुल्क उपलब्ध हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिनुभएको छ ।

नेपालमा उपलब्ध नभएका कारण उपचारका लागि विदेश जानुपर्ने समस्या कम गर्न मन्त्री पौडेलको विशेष पहलमा अन्तर्राष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफले ३७ प्रकारका औषधी सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसार पहिलो भाग नेपाल आइपुगेको हो ।

डाइरेक्ट रिलिफले वन हर्ट वल्र्डवाइड संस्थामार्फत नेपाल सरकारलाई पठाएको सहयोग हस्तान्तरणका लागि आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले औषधी अभावमा विदेश गएर महँगो खर्च गर्नुपर्ने बिरामीको समस्या कम गर्न लामो मेहनत पछि सफलता प्राप्त गरेको बताउनुभयो ।

डाइरेक्ट रिलिफले स्तन, छाला तथा विभिन्न खालका क्यान्सर उपचारमा आवश्यक पर्ने दुर्लभ र महँगा ती औषधी नेपालको आवश्यकताअनुसार ५ वर्षसम्म सहयोग स्वरूप उपलब्ध हुने मन्त्री पौडेलले जानकारी दिनुभया‍े ।

‘क्यान्सरको औषधि महँगो हुँदा विपन्न नागरिकलाई समस्या छ,’ मन्त्री पौडेलले भन्नुभयो, ‘राज्यको लगानीबीना नै धेरै नागरिकलाई राहत दिने प्रयास गरेका हौँ ।’

हाल ३७ प्रकारका औषधी क्रमैसँग आउने भए पनि अरू आवश्यक औषधी समेत सहयोगमा प्राप्त गर्न प्रयास गरिने मन्त्री पौडेलले बताउनुभयो ।

‘सुची थप गरेर धेरै नागरिकलाई अझ राहत दिन प्रयत्न गर्नेछौँ,’ मन्त्री पौडेलले भन्नुभयो ।

मन्त्री पौडेलले सरकारी क्यान्सर अस्पतालमा तत्काल औषधी पठाउने व्यवस्था मिलाइएको जानकारी समेत दिनुभयो ।  

मन्त्री पौडेलले सरकारले दिने स्वास्थ्य सुविधा तथा बीमाबारे पर्याप्त जानकारी प्राप्त नहुँदा नागरिकले सेवा लिन नसकिरहेको प्रसङ्ग कोट्याउँदै सञ्चारमाध्यमलाई यस्ता जानकारी प्राथमिकताका साथ प्रसार गरेर सहयोग गरिदिन आग्रह गर्नुभयो ।

मन्त्रालयको समन्वय महाशाखा प्रमुख डा. भीम सापकोटाले ५ वर्षसम्म नेपालको आवश्यकताअनुसार औषधी प्राप्त गर्ने गरी समझदारी भएको जानकारी दिनुभयो ।

वन हर्ट वल्र्डवाइडका नेपाल प्रतिनिधि सूर्य भट्टले मन्त्री पौडेलको विशेष पहलबाट मात्र औषधी प्राप्त भएको भन्दै यो नेपालका लागि ठूलो उपलब्धि भएको बताउनुभयो ।

स्तन क्यान्सर, प्लाक सोरियासिस, अल्जाइमर आदि स्वास्थ्य समस्यामा प्रयोग हुने यी औषधि र स्वास्थ्य सामग्रीहरू यी चार अस्पतालहरूमा क्यान्सरका बिरामीहरूलाई  निःशुल्क रुपमा उपलब्ध गराइने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

मन्त्रालयलाई हस्तान्तरण गरिएका औषधी र स्वास्थ्य सामाग्रीहरू आजै क्यान्सर उपचारमा संलग्न चार अस्पतालहरू बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल, बाँके, वीर अस्पताल, काठमाण्डौलाई हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button