प्रविधिमा पहुँच बढाउन बीबीए दोस्रो सेमेष्टरका २८ उत्कृष्ट विद्यार्थीलाई ल्यापटप वितरण
बाँके। नेपालगञ्ज–१० स्थित टीआरटिआई कलेजमा ‘आईटीमैत्री शिक्षा, डिजिटल भविष्य’ नारासहित आयोजित कार्यक्रममा बीबीए दोस्रो सेमेष्टरका उत्कृष्ट २८ विद्यार्थीलाई ल्यापटप वितरण गरिएको छ।
विद्यार्थीहरूलाई अनुसन्धान र प्रविधिमा पहुँच बढाउनका लागि ल्यापटप वितरण गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले युवालाई देशमै अवसर खोज्न आह्वान गर्नुभयो। “विदेशमा दुःख गर्नुको सट्टा आफ्नै माटोमा रमाउँ, समृद्धि यहीँ सम्भव छ,” उहाँले भन्नुभयो।
कर्णाली प्रदेशमा रहेका प्राकृतिक स्रोत, जडिबुटी, पर्यटन र पेट्रोलियमको सम्भावना उल्लेख गर्दै उहाँले युवालाई देशमै आत्मनिर्भर बन्न प्रेरणा दिनुभयो।
कलेजका कार्यकारी अधिकृत भगतबहादुर नेपालीले टीआरटिआई कलेजले डिजिटल मार्केटिङ र सूचना प्रविधिमा अग्रणी भूमिका खेलिरहेको बताउँदै क्लस्टर तहदेखि एमबीएसम्मका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो।
प्रशंसा सुनारले सञ्चालन गरेको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्रोफेसर मोहनजंग शाह, समाजसेवी खगेश्वर बोहरा, प्याब्सन बाँके अध्यक्ष विकास बज्राचार्य, नगर अध्यक्ष मानबहादुर थापा, सचिव विज्ञान शाह लगायतको उपस्थिति थियो।
प्रतिक्रिया राख्नुहोस्