तपाईँ सुन्दै हुनुहुन्छः

त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकहरूलाई संघीय अस्पताल तथा प्रतिष्ठानहरूमा उपचार सुविधा दिन स्वास्थ्य मन्त्रालय र त्रिविबीच समझदारी भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल र त्रिविका उपकुलपति डा. खड्ग केसीको उपस्थितिमा मन्त्रालयमा भएको समझदारीअनुसार सबै संघीय अस्पताल तथा प्रतिष्ठानहरूमा त्रिविको उपचार कोषमार्फत ९० प्रतिशत तथा १० प्रतिशत योगदानमा आधारित उपचार सुविधा उपलब्ध हुनेछ । 

समझदारीमा त्रिविले प्राध्यापक तथा विद्यार्थीलाई स्वास्थ्य बिमामा आबद्ध गराउन प्रोत्साहन गर्ने समेत उल्लेख छ । 

कार्यक्रममा मन्त्री पौडेलले सरकारले सङ्गठित क्षेत्रमा आवद्ध सबैलाई स्वास्थ्य बीमा कोषमा आबद्ध गराउने निर्णय गरिसकेकाले त्रिविले समेत आगामी दिनमा सबैलाई आबद्ध गराएर स्वास्थ्य बीमा सुविधा उपलब्ध गराउन आग्रह गर्नुभयो । यसका लागि आवश्यक गृहकार्य त्रिविले चाँडै सक्ने उहाँले विश्वास गर्नुभयो । 

स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउन श्रोत थप्नुका साथै नीतिगत सुधार भइरहेको बताउँदै मन्त्री पौडेलले त्रिविका प्राध्यापक विद्यार्थी आबद्ध हुँदा सकारात्मक सन्देश जाने बताउनुभयो । 

मन्त्रालयका सचिव डिल्लीराम शर्माले समझदारीको प्रभावकारी कार्यान्वयन हुने विश्वास गर्नुभयो । 

त्रिविका उपकुलपति डा. केसीले स्वास्थ्य बिमामा आबद्धताका लागि प्रक्रिया थालिएको भन्दै कार्यदल बनाउने बताउनुभयो । उहाँले त्रिवि र मन्त्रालयबीच शिक्षा र स्वास्थ्यमा थप सहकार्य गर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button