तपाईँ सुन्दै हुनुहुन्छः

आगामी आवदेखि ‘वार्षिक बीमा नीति’ ल्याउन सुरु गरिने 

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले आगामी आर्थिक वर्षदेखि समग्र बीमा क्षेत्रका लागि ‘वार्षिक बीमा नीति’ ल्याउन सुरु गर्ने बताउनुभएको छ ।

नेपाल बीमा प्राधिकरणको आयोजनामा आज केन्द्रीय कार्यालय, कुपण्डोलमा जीवन बीमा कम्पनी र लघु जीवन बीमा कम्पनी तथा निर्जीवन बीमा कम्पनी, लघु निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीसँग वार्षिक बीमा नीति, २०८२ को मस्यौदामाथि भएको छुट्टाछुट्टै अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष ओझाले बीमा क्षेत्रको सुधार विधिसम्मत रूपमा अगाडि बढोस्, प्रक्षेपित सेवा प्रवाह होस् र बीमा क्षेत्र अझै विश्वसनीय हुन सकोस् भनेर वार्षिक बीमा नीति ल्याउन सुरु गर्न लागिएको बताउनुभयो ।

अध्यक्ष ओझाले भन्नुभयो, “वार्षिक बीमा नीति ल्याएपछि सोही अनुसारको कार्यक्रम तथा बजेट बन्छ, स्रोत सुनिश्चित हुन्छ, कार्यान्वयन गर्ने निकाय तथा शाखा स्पष्ट हुन्छ र तिनको मूल्याङ्कन गर्न सहज हुन्छ, सबैले आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गर्नुपर्ने हुन्छ ।”

वार्षिक बीमा नीतिको मस्यौदाको गहन अध्ययन गरी साना ठूला सबै किसिमका सुझावहरू यही असार १५ गतेभित्र दिन बीमा कम्पनीहरूलाई आग्रह गर्नुहुँदै अध्यक्ष ओझाले भन्नुभयो, “बीमा कम्पनीहरूबाट आउने सुझावहरूलाई नीतिमा समेट्न प्रयास गर्छौं, नीति मार्फत प्रक्षेपित संयन्त्र बनाउन खोजिएको हो, बीमाको दायरा बढाउनका लागि प्रक्षेपित सेवा महत्वपूर्ण हुन्छ, प्रक्षेपित सेवा दिनुपर्छ ।”

अध्यक्ष ओझाले भन्नुभयो, “बीमा कम्पनीहरूले दाबी भुक्तानी गरेका छन्, तर दाबी भुक्तानीमा ढिलाइ हुनु नै मुख्य समस्या हो, शीघ्रताका साथ सहज रूपमा दाबी भुक्तानी भएपछि बजारमा राम्रो सन्देश जान्छ, सेवाप्रति नागरिक सन्तुष्ट भएमा मात्र बीमाप्रतिको विश्वसनीयता बढ्छ, हामी सबै बीमाप्रतिको विश्वसनीयता बढाउन लाग्नुपर्छ, हामी भित्रका समस्या प्राथमिकताका साथ समाधान गर्नुपर्छ ।”

सरकारी भवन, सडक र पुरातात्त्विक सम्पदा लगायतका सरकारी संरचनाहरूको कसरी बीमा गर्ने भन्ने सम्बन्धमा अध्ययन गरी सुझाव सहितको प्रतिवेदन तयार गर्ने काम भइरहेको र छिट्टै नै यस सम्बन्धी प्रतिवेदन सरकार सक्षम बुझाउने जानकारी दिनुभयो ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले समग्र बीमा क्षेत्रलाई सही ढङ्गले अघि बढाउन प्राधिकरणले वार्षिक बीमा नीति ल्याउन सुरु गर्न लागेको उल्लेख गर्नुहुँदै नीतिलाई अझै परिष्कृत बनाउनका लागि सहयोग पुग्ने गरी सुझावहरू दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल अधिकारीले वार्षिक बीमा नीति, २०८२ को मस्यौदा प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशकहरू,  जीवन बीमा कम्पनी र लघु जीवन बीमा कम्पनी तथा निर्जीवन बीमा कम्पनी, लघु निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक सुन्दर प्रसाद शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button