राष्ट्रियसभा बैठक: युवामा बढ्दो निराशा र विदेश पलायनबारे चासो

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले युवाहरूमा देखिएको निराशाको भाष्य चिर्न राजनीतिक दलहरूले एकै ध्येयका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।
बैठकको विशेष समयमा बोल्दै सांसदहरुले युवापुस्तामा देश बन्दैन भन्ने भाष्य निर्माणले विदेश पलायन अझ बढ्दै गएको भन्दै राजनीतिक दलहरू आपसी आरोप प्रत्यारोप छोडेर समृद्ध मुलुक निर्माणका लागि एक हुनुपर्ने बताउनुभयो ।
सांसदहरुले जन्मकैद फैसला भइसकेको व्यक्तिलाई पुनः उन्मुक्ति दिइनुले राज्यले पीडकलाई थप पीडा दिने कार्य गरेको, मधेश प्रदेशमा समावेशी र समानुपातिक तर्फका अवसरहरू पहुँचवालाले नै लिइरहेको भन्दै पुनरावलोकन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै सांसदहरुले इजरायल इरानको युद्धमा रोजगारीका लागि त्यहाँ पुगेका नेपाली नागरिक असुरक्षित बनेको भन्दै सुरक्षित रुपमा स्वदेश फर्काउन व्यवस्थापन गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले उखु,दुग्ध उत्पादक कृषकहरूलाई उचित मूल्य दिनुपर्ने, वर्षाका कारण सडक अवरुद्ध हुने, खोलाको बहाव बढ्ने खतरा बढेकाले पूर्वतयारीमा ध्यान दिनुपर्ने, पहाडी क्षेत्रमा बसाइसराइ रोक्न कृषि उत्पादन र यसको बजारीकरणमा सरकारले ध्यान दिनुपर्ने लगायतका विषयहरूमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्