दुई प्रदेशको सीमानामा प्रहरी चौकी स्थापना
रामपुर (पाल्पा)। लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको सीमानामा पर्ने पाल्पाको निस्दी गाउँपालिका–१ भोटाहामा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । सुरक्षा व्यवस्थालाई मजबुत बनाउन प्रहरी चौकी स्थापना गरिएको हो ।
कालीगण्डकी करिडोर प्रयोग गर्ने बढ्दै जाँदा चोरी निकासी तथा अवैध गतिविधि नियन्त्रण गर्न, निस्दी गाउँपालिका–१ र २ का स्थानीयलाई शान्ति सुरक्षा दिलाउन, सवारी दुर्घटना न्युनिकरण, अपराधिक क्रियाकलाप रोक्नका लागि दुई प्रदेशको सीमा नाकामा प्रहरी चौकी स्थापना गरी सेवा दिन थालिएको हो । भाडाको घरबाट सञ्चालित चौकीका लागि निस्दी गाउँपालिकाले आवश्यक सहयोग गरेको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताउनुभयो ।
गाउँपालिकाले एउटा मोटरसाइकल समेत उपलब्ध गराउने भएको छ । यहाँ स्थापना भएको प्रहरी चौकीसँगै पाल्पामा हाल १९ स्थायी प्रहरी चौकी र ६ अस्थायी प्रहरी चौकी सञ्चालनमा छन् । प्रहरी प्रधान कार्यालयले गत वैशाखमा स्वीकृत प्रदान गरेसँगै अस्थायी पोष्ट स्थापनाका लागि आवश्यक तयारी गरेर चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले लुम्बिनी प्रदेशको पाल्पा र गण्डकीको नवलपुरका सीमा क्षेत्रमा हुन सक्ने अवैध गतिविधि नियन्त्रणका लागि सहज हुने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्