विद्यालयमा उत्पादन, खाजामा उपभोग: व्यवहारिक शिक्षाको उत्कृष्ट प्रयोग
नवलपरासी,पश्चिम।पश्चिम नवलपरासीको बर्दघाटमा रहेको एउटा यस्तो विद्यालय जहाँ विद्यार्थीहरूले आफैले फलाएको तरकारी दिवा खाजामा प्रयोग गर्छन् ।यो विद्यालयका शिक्षक र विद्यार्थीले गरे के हुँदैन र भन्ने सन्देश समेत दिएका छन् ।
बर्दघाट नगरपालिका वडा नम्बर ११ मा रहेको जनता आधारभूत विद्यालयले यति बेला विद्यार्थीले नै फलाएको साग सब्जी र तरकारी दिवा खाजाको रूपमा खादै आएका हुन ।
किताबी पढाइमा सीमित बन्दै आएका विद्यार्थीले विगत ९ महिनादेखि तरकारी खेती मार्फत कृषिको प्रयोगात्मक र व्यावहारिक शिक्षा लिन थालेका छन् । तरकारी खेतीको पूर्व तयारीदेखि खेती लगाउने, रेखदेख गर्ने, रोग र औषधि–उपचारबारे समेत विद्यार्थीहरूमा ज्ञान थपिएको छ ।

तरकारी लगाउनेदेखि पानी हाल्ने, गोडमेल, रेखदेख गर्ने आदि सबै काम विद्यार्थी आफैँले गर्दै आएका छन् । यसले विद्यार्थी लाई किताबी ज्ञान सँगै दैनिक जीवनोपयोगी ज्ञान समेत हासिल भएको छ ।
विद्यालय सँगै जोडिएको तर खेर गइरहेको झन्डै ८ कट्टा क्षेत्रफलको प्रति जग्गालाई सदुपयोग गरेर तरकारी खेती गरिएको विद्यालयका प्रधानाध्यापक पूर्णकान्त गिरीले बताउनु भयो ।
“अहिले विद्यार्थीहरूमा किताबी ज्ञान मात्रै छ,व्यवहारिक ज्ञान कमै छ फेरी विद्यार्थी प्राय कृषककै छोराछोरी छन्,यसले पनि आफ्ना बुवा आमाले गर्ने कृषि कर्ममा बारेमा पनि बुझुन् र सबै विद्यालयमा यसले सकारात्मक सन्देश जाओस् र प्रेरणा मिलोस् भन्ने हो”गिरीले भन्नू भयो ।अघिल्लो वर्ष वडाले समेत गोबर मलका लागि एक लाख रुपैयाँ दिएको र सबै तरकारी अर्ग्यानिक रूपमा नै उत्पादन गरिएको उहाँले बताउनु भयो ।खिर,चिउरा भुजा लगायतका खाजाहरू बन्ने गरेको र हरेक दिवा खाजामा विद्यालयमै फलेका तरकारी,अचार नियमित बनाइने गिरिको भनाई छ ।
तरकारी खेतीमा सबै शिक्षकहरू पनि अग्रसर रहेका छन् ।विद्यार्थीलाई बढी भएको तरकारी केही बिक्री गरिन्छ भने स्थानीयहरूलाई समेत तरकारी दिने गरिएको छ ।अहिले बारीमा लौका,करेला,भिण्डी,भन्टा फलेका छन् ।विद्यालयमा आउने केही अभिभावक र स्थानीयलाई तरकारी कोसेलीको रूपमा समेत दिइँदै आइएको छ ।”सुरुमा त मलाई खिसीटिउरी गरे,पढाउन छोडेर यस्तो गर्यो भने, विद्यार्थीको श्रम शोषण गर्यो भने तर मेरो उद्देश्य विद्यार्थीलाई व्यवहारिक ज्ञान पनि आवश्यक छ भन्ने नै हो”प्रधानाध्यापक गिरीले भन्नू भयो ।नगरप्रमुखले समेत यो कार्यलाई खुलेर प्रोत्साहन गर्दै आउनु भएको गिरिको भनाई छ ।
नगरप्रमुख शम्भुलाल श्रेष्ठले विद्यार्थीहरूलाई यस्तो खालको ज्ञान सबै विद्यालयहरूले सिकाउन आवश्यक रहेको बताउनु भयो ।विद्यार्थीको यो पृथक् मेहनतले अरू विद्यालय र आम अभिभावकलाई समेत सकारात्मक सन्देश दिएको बताउनु भयो ।

“हामीले विद्यालयको पूर्वाधार र भौतिक विकासमा मात्रै जोड दिन्छौ तर विद्यालयको गुणस्तर र विद्यार्थीको अतिरिक्त सिकाई उपलब्धिलाई खासै महत्त्व दिँदैनौ,विकास सँगै यस्ता सबै क्रियाकलापहरू अब जरुरी छ”नगरप्रमुख श्रेष्ठले भन्नू भयो ।हामी कृषि प्रधान देश भन्छौ अधिकांश कृषककै छोराछोरी छन् अहिलेको पुस्तालाई र भावी कर्णधारलाई कृषि कसरी हुन्छ,आफ्ना बाउ बाजेले कसरी कृषि गरे भन्ने जानकारी दिन पनि आवश्यक छ”नगर प्रमुख श्रेष्ठको भनाई छ ।नगरपालिकाले तरकारी खेतीको सहजताका लागि विद्यालयलाई हाते ट्र्याक्टर उपलब्ध गराएको छ ।
पढ्दै र सिक्दै भन्ने अभियानको सुरुवात गर्नुपर्छ भन्ने ध्येयका साथ फरक अभ्यास गरिँदै आएको विद्यालयले जनाएको छ ।विद्यालयमा हाल १५० बढी विद्यार्थी रहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्