वडा अध्यक्ष फुटबल प्रतियोगिताको उपाधि न्यू स्टार युवा क्लबलाई
बाँके | बाँकेको नरैनापुर गाउँपालिका वडा नं. ६ को सहयोग तथा मानव समाज विकास मञ्च बाँकेको आयोजनामा सम्पन्न प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगितामा न्यू स्टार युवा क्लबले उपाधि जितेको छ।
नरैनापुर–६, जमुनीस्थित खेम मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा न्यू स्टारले मनकामना युवा क्लबलाई टाई ब्रेकरमा ३–१ गोलअन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो।
कडा प्रतिस्पर्धाबीच सम्पन्न फाइनलपछि प्रमुख अतिथि वडा नं. ६ का अध्यक्ष प्रेमचन्द्र मौर्य, विशिष्ट अतिथि वडा सचिव भरतराज गोराथोकी, तथा आयोजक संस्थाकी अध्यक्ष बालकुमारी रोकाय लगायतले विजेता र उपविजेता टिमलाई पुरस्कार वितरण गरे।
आयोजक संयोजक सिकन्दर अली मुकेरीका अनुसार, विजेता टिमले प्रमाणपत्रसहित शिल्ड प्राप्त गरेको छ भने उपविजेता टोलीले शिल्ड, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको थियो।
समापन समारोहमा बोल्दै वडा अध्यक्ष मौर्यले फुटबलजस्ता खेलकुद गतिविधिहरूले नरैनापुरलाई चिनाउन सहयोग पुर्याउने भन्दै आगामी दिनमा पनि खेलकुद क्षेत्रको विकासमा सक्दो साथ र सहयोग गर्ने प्रतिबद्धता जनाए।
त्यसैगरी, वडा सचिव गोराथोकीले पछिल्लो समय नरैनापुरका युवाहरू खेलकुदसँगै सामाजिक चेतना, पर्यटन प्रवर्द्धन र जनचेतनामूलक अभियानमा सक्रिय बन्दै गएका भन्दै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने बताए।
प्रतिक्रिया राख्नुहोस्