डुडुवामा एसइई पास गरेका छात्रालाई साइकल वितरण

बाँके । बाँकेको डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन कार्यक्रम अन्तरगत एसइई पास गरेका छात्राहरूलाई साइकल वितरण गरेको छ । घरदेखि टाढा बजारसम्म गएर उच्च शिक्षा हासिल गर्न सहजता तथा उत्प्रेरणाका लागि गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूका छात्रालाई साइकल वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
२०८० सालमा एसइई पास गरेका गाउँपालिकाका ७ वटा माध्यमिक विद्यालयका ४१ जना मध्ये ३८ जना छात्रालाई साइकल वितरण गरिएको एसआइएस शाखा प्रमुख कौशल कैरातीले बताउनु भयो । साइकल वितरण गर्दै गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले किशोरीहरूलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गरेको भन्दै भोलीका दिनमा उच्च शिक्षा हासिल गर्न टाढा तथा बजारसम्म आउजाउ गर्न मद्दत पुग्ने बताउनु भयो ।
मधेशी, मुस्लिम समुदायका किशोरीहरू साधारण कक्षा पढेपछि विभिन्न कारणले उच्च शिक्षा हासिल गर्न नसकेको समस्यालाई अन्त्य गर्न साइकल वितरण गरिएको जिकिर गर्नुभयो । अध्यक्ष चौधरीले डुडुवाले संस्कार शिक्षालाई जोड दिँदै स्थानीय पाठ्यक्रम तयार गरि लागु गरिएको बताउनु भयो । उहाँले आ–आफ्नो घरमा नैतिकतासँगै संस्कारको वातावरण तयार गर्न नैतिक शिक्षा दिन सुरु गरिएको उल्लेख गर्नु भयो ।
कार्यक्रममा उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरू आमोद तिवारी, प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार पाण्डे विभिन्न विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्