मृतक पाली प्रकरणको छानबिनको माग गर्दै डडेल्धुरामा व्यवसायीको आन्दोलन
डडेल्धुरा । बैंकिङ कसुरमा पक्राउ परेका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ निवासी २८ वर्षीय हरिसिंह पालीको प्रहरी नियन्त्रणमै मृत्यु भएको घटनाको छानबिनको माग गर्दै डडेल्धुराका व्यवसायीहरूले बजार र यातायात बन्द गरी आन्दोलन गरेका छन्।
पालिको सोमबार मृत्यु भएपछि उनको शरीरका विभिन्न भागमा नीलडाम देखिएको भन्दै परिवारजनले घटना रहस्यमय भएको आशंका गर्दै शव बुझ्न अस्वीकार गरेका छन्।
कैलाली जिल्ला अदालतले २९ फागुनमा पालीलाई १० दिन कैद र दुई लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो।
मृतकका काका पदम सिंह पालीका अनुसार प्रहरी नायब निरीक्षक हरिजित नाथले पालीसँग पटक–पटक रकम मागेको र यसअघि महेन्द्रनगरमा हिरासतमा राखी ‘बार्गेनिङ’ गरेको आरोप लगाएका छन्। उनले पछिल्लो पटक डडेल्धुराबाट निजी गाडी प्रयोग गरी पालीलाई कैलाली लगेर नियोजित रूपमा यातना दिइएको दाबी गरेका छन्।
उद्योग वाणिज्य संघ डडेल्धुराको नेतृत्वमा घटना छानबिनको माग गर्दै आन्दोलन सुरु गरिएको हो। संघका वरिष्ठ उपाध्यक्ष दीपक महताले घटनाबारे प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने तयारी भइरहेको जानकारी दिनुभयो।
व्यवसायीहरूले सडकमा टायर बालेर प्रदर्शन गरेका छन्। उनीहरूले प्रहरी नियन्त्रणमा रहेका व्यक्ति सुरक्षित नरहे कहाँ सुरक्षित हुन्छन् भन्दै घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।
प्रतिक्रिया राख्नुहोस्