नगरको सहयोगमा बर्दघाटमा कपडा बैङ्क स्थापना
नवलपरासी,पश्चिम्।बर्दघाट नगरपालिकाको सहयोगमा विपन्न नागरिकलाई लक्षित गर्दै बर्दघाट नगरपालिका परिसरमा कपडा बैङ्क स्थापना गरिएको छ।
बर्दघाट जेसिज र क्लोथ एण्ड फुड बैङ्क नेपालको संयुक्त पहलमा स्थापना गरिएको कपडा बैङ्क हुम्ला, जुम्ला लगायत देशभरका १६५ स्थानीय तहमा स्थापना भइसकेको क्लोथ एण्ड फुड बैङ्क नेपालका अध्यक्ष कमल जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार वार्षिक रूपमा ३२ देखि ४० टन पुराना कपडा सङ्कलन गरिँदै आएको छ, जसको मूल्य करिब दुई करोड रुपैयाँ बराबरको हुन्छ।
कपडा बैङ्कको उद्घाटन गर्दै नगरप्रमुख शम्भुलाल श्रेष्ठले प्रयोग भइसकेका कपडालाई प्रशोधन गरी पुनः प्रयोग गर्न सकिने उद्देश्यले बैङ्क स्थापना गरिएको बताउनुभयो । “विकास निर्माण मात्रै होइन, मानवीय धर्म पनि बिर्सनु हुँदैन,” उहाँले भन्नुभयो , “हाम्रो सानो सहयोगले अरूलाई ठूलो खुसी दिन सक्छ।” नगरप्रमुख श्रेष्ठले आगामी दिनमा फुड बैङ्क विस्तार गर्ने पनि जानकारी दिनुभयो ।
बर्दघाट जेसिजका अध्यक्ष मोहन सापकोटाका अनुसार कपडा बैङ्कमा सङ्कलित लुगाहरू नगर क्षेत्रका विपन्न नागरिकलाई आवश्यकताका आधारमा वितरण गरिनेछ। भविष्यमा थप स्थानमा पनि कपडा बैङ्क विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो। बर्दघाट नगरपालिकाले यसअघि पनि जाडो याममा विपन्न समुदायलाई लत्ता कपडा वितरण गर्दै आएको थियो।
प्रतिक्रिया राख्नुहोस्