तपाईँ सुन्दै हुनुहुन्छः

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

बैतडी। सुर्नया गाउँपालिकाको वडा ७ र ८मा ठेउला सङ्क्रमण फैलिदा बालबालिका प्रभावित भएका छन् । बालबालिका प्रभावित भएपछि यहाँका केही विद्यालयको पठनपाठन समेत बन्द गरिएका छन् ।

ठेउला सङ्क्रमण देखिएकाले सतर्कता अपनाउन आग्रह गरिएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताउनुभयो ।

ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित भएकाले केही विद्यालयसमेत बन्द गरिएका छन् । ठेउला सरुवा सङ्क्रमण भएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ । यसबाट बालबालिका, गर्भवती, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्ति बढी प्रभावित हुने भएकाले ध्यान दिनुपर्नेमा उहाँको जोड छ ।

ठेउला भएमा ज्वरो आउने, शरीरभरि बिमिरा आउने, शरीर दुख्ने, भोक नलाग्नेलगायत लक्षण देखापरेका छन् । यस्ता लक्षण देखापरेमा नजिकका स्वास्थ्य संस्थामा सम्पर्क राख्न आग्रह गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताउनुभयो ।

ठेउला सङ्क्रमित व्यक्तिलाई केही समय होम आइसोलेसनमा राख्नुपर्ने उहाँले बताउनुभयो । यसका साथै व्यक्तिगत र वातावरणीय सरसफाइमा विशेष ध्यान दिन भनिएको छ । केही ठाउँमा ठेउला रोग देखिएकाले आवश्यक सतर्कता अपनाउन सम्बद्ध सबै पक्षलाई आग्रह गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोगराज जोशीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button