बागलुङको जैमिनीमा पहिरो, चार घर परिवार जोखिममा
बागलुङ ।बागलुङको जैमिनी नगरपालिका–१० देबलधारास्थित सेलडाँडामा गएको पहिरोले चार घर परिवार उच्च जोखिममा परेका छन्। पहिरोले बागलुङ–शान्तिपुर सडक खण्डमाथिको डाँडाखेतबाट बग्दै आएको माटोले भीमबहादुर श्रीसको घर र गोठ प्रत्यक्ष जोखिममा पारेको वडा १० का कार्यवाहक अध्यक्ष भरत श्रीसले जानकारी दिनुभयो।
साथै, स्थानीय जयराम आचार्य, रामसागर शर्मा र एकराज शर्माको घर पनि पहिरोको जोखिममा परेको बताइएको छ। घरमाथिको जमिन फाट्दै गएको र जुनसुकै बेला पहिरो खसेर ठूलो क्षति हुन सक्ने खतरा रहेको अध्यक्ष श्रीसले बताउनुभयो।
हालसम्म चार घरका १२ जना पहिरोको उच्च जोखिममा परेका छन्। स्थानीय प्रशासन र नगरपालिका स्तरबाट आवश्यक सुरक्षात्मक उपायको तयारी थालिएको जनाइएको छ।
प्रतिक्रिया राख्नुहोस्