विनियोजन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।
यस्तै आजको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८२ प्रस्तुत भएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलका सकिएको छ ।
बैठकमा उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै बजेट आकार, स्रोतका हिसाबले यथार्थपरक र कार्यान्वयनयोग्य निर्माण गरिएको बताउनुभएको छ ।
अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई चलायमान गर्न, नीजि क्षेत्रको आत्मबल वृद्धि गदै लगानीको वातावरण बनाउन विभिन्न नीतिगत सुधारका लागि आगामी आर्थिक वर्षको बजेट केन्द्रित रहेको बताउनुभयो ।
अर्थमन्त्री पौडेलले बजेटको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय, आयोजना प्रमुखहरूलाई जबाफदेही र उत्तरदायी बनाइएको भन्नुहुँदै बजेटले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
अर्थमन्त्री पौडेलले विगतको तुलनामा न्यूनतम दायरामा रहेर १७ प्रतिशतले मात्रै राजश्व वृद्धिको लक्ष्य लिइएकोले राजश्व तर्फको लक्ष्य पुरा गर्न सकिने आधारहरू रहेको पनि उल्लेख गर्नुभयो ।
अर्थमन्त्री पौडेलले सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट मुलुकलाई बाहिर निकाल्न राष्ट्रिय रणनीति निर्माण भएको र कार्यनीतिलाई प्रभावकारी कार्यान्वयन गरेर निर्धारित समय अगाडी नै मुलुक ग्रे लिस्टबाट बाहिरिने पनि बताउनुभयो ।
अर्थमन्त्री पौडेलले सामाजिक सुरक्षालाई दिगो र लक्षित वर्गतर्फ केन्द्रित गर्न ज्येष्ठ नागरिक, अपाङ्गता भएकाहरूलाई घुम्ती सेवा मार्फत राष्ट्रिय परिचय पत्र उपलब्ध गराउने र सामाजिक सुरक्षासँग आवद्ध गर्ने कार्यक्रमलाई बजेटले समेटेको बताउनुभयो ।
यस्तै बजेटको अनुशासन, स्रोतको सदुपयोग गर्ने उद्देश्यले संघीय सरकारले कार्यान्वयन गर्ने योजनाहरूमा ३ करोड रुपैयाँको सीमा निर्धारण गरिएको उल्लेख गर्नुहुँदै अर्थमन्त्री पौडेलले तीन करोड भन्दा साना आयोजना कार्यान्वयन नगर्ने प्रणालीलाई कढाइका साथ कार्यान्वयन गर्ने पनि स्पष्ट पार्नुभयो ।
प्रतिनिधि सभाको अर्को बैठक भोली असार ३ गते मङ्गलवार दिनको १ बजे बस्नेछ ।
प्रतिक्रिया राख्नुहोस्