प्रतिनिधि सभा बैठक सुरु, विपक्षी दलको अवरोध कायमै

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा पनि प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसा प्रकरणलाई लिएर विरोध जारी राखेका छन् ।
बैठकमा सभामुखसँग समयम माग गरी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा सबै राजनीतिक दलले उपस्थित हुन पाउने तथा ठूला र साना दलको उत्तिकै हैसियत हुने भन्दै जबर्जस्ती बैठक सञ्चालन नगर्न सभामुखलाई आग्रह गर्नुभयो ।

उहाँले एउटा पार्टीको सांसद उठेर अवरुद्ध गरिरहेको बेला बैठक सञ्चालन गर्न नहुने भन्दै यदि बैठक सञ्चालन गरे बहिस्कार गर्ने र बहिस्कार गरेको दिन बैठक भत्ता नलिने बताउनुभयो ।
त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले जनताको हितका लागि राज्यले काम गर्नुपर्ने भन्दै सङ्ख्याका आधारमा कसैले पनि दम्भ देखाउन नहुने बताउनुभयो ।
उहाँले जनताका विषयमा राज्य गम्भीर नबनेको र बेथितिमाथि आवाज उठाउँदा जनताका आवाज दबाउन खोजिएको आरोप लगाउँदै बैठक जबर्जस्ती सञ्चालन नगर्न माग गर्नुभयो ।
विरोधका बीच सभामुख देवराज घिमिरेले संसद् बैठक सञ्चालन गरेपछि रास्वपा सांसदहरुले बेल घेराउ गरी नाराबाजी जारी राख्नुभयो ।
बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त संवैधानिक परिषद् काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धमा पहिलो संशोधन विधेयक २०७९, टेबुल गर्नुभयो ।
यसअघि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले गरिरहेको विरोधमा सहमति जुटाउन प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको थियो ।
यसैगरी आजै बिहान सभामुख घिमिरेले बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग पनि सदनमा जारी अवरोधका विषयमा छलफल गर्नु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्