सदनको अवरोध हल गर्ने विषयमा सभामुख घिमिरेद्वारा रास्वपाका नेताहरूसँग छलफल
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सदनको अवरोध हल गर्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेताहरूसँग छलफल गर्नुभएको छ ।
सभामुख घिमिरेको सरकारी निवास बालुवाटारमा आज राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग भेट गर्नुभएको हो ।
भेटमा सभामुख घिमिरेले दुई सातादेखि विपक्षीको अवरोधले संसद् बन्धक हुँदा बजेटबारे छलफल गर्नुपर्ने बेला जनतामा गलत सन्देश गएको बताउनुभएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।
विपक्षीले उठाएका मुद्दा गम्भीर भएकाले दुई सातासम्म संसद्लाई सहमतिका लागि रोकेको भएपनि अब रोक्ने अवस्था नरहेको र संसद्को नेतृत्वका हिसाबले आफूले संवैधानिक सीमालाई पनि ख्याल गर्नुपर्ने सभामुख घिमिरेले बताउनुभयो ।
सभामुख घिमिरेले राष्ट्रियसभाले ५ गतेभित्र प्रतिनिधिसभाबाट विनियोजन विधेयक पठाउन भनेको अवस्थामा जुनसुकै हालतमा बजेट पारित गर्नैपर्ने बताउनुभयो ।
रास्वपाका नेताहरूलाई आफ्नो आन्दोलनको स्वरूप बदल्न र संवैधानिक सीमा र बाध्यता बुझ्नु आग्रह गर्दै सभामुख घिमिरेले सरकारसँग संवादका लागि आफूले पनि आवश्यक सहजीकरण गर्ने बताउनुभएको सभामुखको सचिवालयले जनाएको छ ।
भेटमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले प्रतिपक्षीले उठाएका माग गम्भीर रहेको र आफूहरूको माग र मुद्दामा सरकार गम्भीर नभएकाले संसद् अवरोध बाध्यात्मक भएको बताउनुभयो ।
उहाँहरूले अहिलेकै अवस्थामा आफूहरू मुद्दाबाट पछाडि फर्कन सक्ने अवस्थामा नरहेको भएपनि निकासका लागि छलफल र संवादका लागि तयार रहेको बताउनुभएको भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्