मुलुकको समृद्धिका लागि साहित्य, कला र संस्कृति अनिवार्य पाटो: मन्त्री भण्डारी
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशको समृद्धिका लागि साहित्य, कला र संस्कृति अनिवार्य पाटो भएको उल्लेख गर्नुभएको छ ।
आज नेपाल प्रज्ञा प्रतिष्ठानको ६८औँ वार्षिकोत्सवका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, कलाकार तथा कर्मचारी सङ्गठनद्वारा आयोजित विचार गोष्ठी तथा अग्रज सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले नेपाली भाषा, साहित्य र संस्कृति प्रवद्र्धनमा प्रतिष्ठानको भूमिकालाई उच्च मूल्याङ्कन गर्नुभयो ।
उहाँले भन्नुभयो, “देशको समृद्धिका लागि साहित्य, कला र संस्कृति अनिवार्य पाटो हो । प्रज्ञा प्रतिष्ठानलाई अझ सशक्त र समावेशी बनाउन सरकार पूर्ण प्रतिबद्ध छ ।”
यसैगरी, मन्त्री भण्डारीले देशको समृद्धि केवल भौतिक विकासमा मात्र निर्भर नभई साँचो पहिचान, मौलिकता र सृजनात्मकताको संरक्षणमार्फत सम्भव हुने भएकाले साहित्य, कला र संस्कृतिको जगेर्ना गर्नु हाम्रो राष्ट्रिय दायित्व भएको समेत जिकिर गर्नुभयो ।
“सांस्कृतिक मूल्य र राष्ट्रिय चेतनाको संरक्षणबिना हामी आधुनिकता र प्रविधिमा जतिसुकै अघि बढे पनि त्यो दिगो विकास हुँदैन,” उहाँले भन्नुभयो, “हामीले आत्मगौरवका लागि सृजनात्मक साहित्य, सिर्जनशील कला र हाम्रो मौलिक संस्कृति जोगाउनै पर्छ ।”
कार्यक्रममा प्रतिष्ठानले योगदान दिएका अग्रज साहित्यकारहरूलाई सम्मान गरिनाका साथै नेपाली भाषा र संस्कृतिका समसामयिक चुनौतीहरूबारे विमर्श गरिएको थियो । गोष्ठीमा साहित्यकार, कलाकार, प्राज्ञिक व्यक्तित्व तथा सरकारी अधिकारीहरूको उल्लेखनीय उपस्थिति थियो । रासस
प्रतिक्रिया राख्नुहोस्