तपाईँ सुन्दै हुनुहुन्छः

पुँजीगत खर्च सोचजस्तो हुन सकेको छैन: मन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पुँजीगत खर्च बढ्न नसकेकामा चिन्ता प्रकट गर्दै समस्या परेका विषय लिएर आए समाधान गर्ने बताउनुभएको छ ।

मन्त्रालयअन्तर्गतको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले नागरिकलाई देखिने गरी परिवर्तनको आभाष दिलाउनु आफ्नो चाहना रहेको र हुटहुटीका साथ काम गरिरहेको बताउनुभयो ।

मन्त्री पौडेलले भन्नुभयो, “अहिलेसम्म पुँजीगत खर्च सोचेजस्तो हुन सकेको छैन, यो गम्भीर प्रश्न हो । कर्मचारीहरूको कार्यसम्पादन गरेर भए पनि पुँजीगत खर्च बढाउनु आवश्यक देखिन्छ । नीतिगत सुधार आवश्यक भए हामी तयार छौँ ।”

नागरिकको सरकारी अस्पतालमा विश्वास रहेको भन्दै मन्त्री पौडेलले यसलाई टिकाइराख्न आवश्यक सुधार गर्न तयार रहेको तर कर्मचारीबाट साथ खोजेको बताउनुभयो ।

उहाँले पर्याप्त  पुँजीगत खर्च हुन नसक्दा यसमा समस्या देखिएको र अस्पताल नसुधारेसम्म जनशक्ति र पूर्वाधार थपेर मात्र नहुने भन्दै सुधार गर्न आवश्यक नीतिका लागि तयार रहेको प्रतिक्रिया दिनुभयो ।

अहिलेको चुनौतीपूर्ण अवस्थामा बजेट बढाउन आफूले धेरै मेहनत गरेको भन्दै यसलाई खर्च गर्ने सवालमा गम्भीर भइदिन कर्मचारीहरूसँग उहाँले आग्रह गर्नुभयो ।

मन्त्री पौडेलले सरकारी कर्मचारीहरूसहित सङ्गठित क्षेत्रलाई स्वास्थ्य बिमामा आबद्ध गराउन सरकारले नीतिगत बाटो खोलेको भन्दै यसलाई कार्यान्वयनमा साथ दिनसमेत आग्रह गर्नुभयो । “अहिले स्वास्थ्य बिमामा स्रोत अभाव छ,” उहाँले भन्नुभयो, “सबै कर्मचारी र सङ्गठित क्षेत्र आबद्ध गराएमा ४० अर्बसम्म जम्मा हुनसक्छ । यसको कार्यान्वयनमा तपाईँहरूले साथ दिनुहोला ।” रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button