तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेश सरकारले ४७ अर्बको बजेट ल्याउँदै, कृषि, स्वास्थ्य र शिक्षा प्राथमिकता

जनकपुरधाम । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सहितको बजेट प्रस्तुत गर्न लागेको छ ।

प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादवले प्रदेश सभाको आजकाे बैठकमा सरकारको नीति तथा कार्यक्रम सहितको बजेट प्रस्तुत गर्नुहुने कार्यक्रम तय भएको छ । बजेट पेश गर्नका लागि आज दिउँसो ४ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको छ ।

अर्थमन्त्री यादवले अगामी आर्थिक वर्षका लागि करिब ४७ अर्बभन्दा बढीको बजेट प्रदेशसभाको बैठकमा प्रस्तुत गर्न लाग्नु भएको मधेश प्रदेशका अर्थमन्त्रालय श्रोतले जनाएको छ । आगामी वर्षको बजेट चालु आर्थिक वर्ष २०८१/८२ को तुलनामा करिब ३ अर्बले ठूलो हुने अर्थ मन्त्रालयले जनाएको छ ।

बजेटमा कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, पर्यटन, खेलकुद सहितका  सामाजिक सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको छ ।  प्रदेश सरकारले कृषिलाई समृद्धिको मेरुदण्ड ठानी आन्तरिक उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग, निजी क्षेत्रको संलग्नता, बीउ–विजनको सुनिश्चितता, सिँचाइ सुविधा, भण्डारण पूर्वाधार विकास, बजारीकरण तथा बीमा प्रणालीलाई प्राथमिकता दिने योजना बनाएको छ ।

मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा ४३ अर्ब ८९ करोड ७० लाख रुपैयाँको बजेट ल्याएको थियो । प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार जेठ महिनाको अन्तिम सातासम्म जम्मा ८ अर्ब ८९ करोड ५२ लाख रुपैयाँ मात्र खर्च भएको छ । यो कुल बजेटको केवल २०.२६ प्रतिशत हो ।

खर्च विवरणमा हेर्दा पुँजीगत शीर्षक अन्तर्गत जम्मा ३ अर्ब ८२ करोड ६६ लाख रुपैयाँ मात्रै खर्च भएको छ । यो कुल पुँजीगत बजेटको १३ प्रतिशत मात्र हो । यता, चालु खर्चतर्फ ५ अर्ब ७२ करोड ८८ लाख रुपैयाँ खर्च गरिएको छ । यो विनियोजित बजेटको ३२ प्रतिशत हो ।

मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि चालु तर्फ १५ अर्ब ९४ करोड र पुँजीगत तर्फ २७ अर्ब ८९ करोड गरी जम्मा ४३ अर्ब ८९ करोडको बजेट ल्याएको थियो । आर्थिक वर्ष २०८१/८२ को कुल बजेटको आकार आर्थिक वर्ष २०८०/८१ को भन्दा ०.५० प्रतिशतले कम रहेको थियो । यसैगरी आर्थिक वर्ष २०८०/८१ का लागि चालु तर्फ १८ अर्ब ५४ करोड र पुँजीगत तर्फ २५ अर्ब ५७ करोड गरी जम्मा ४४ अर्ब ११ करोडको बजेट प्रस्तुत भएको थियो ।

यसै बीच मधेश प्रदेश सरकारको मन्त्रीपरिषद् बैठक आज हुन लागेको छ । बैठकबाट मधेश प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम पारित गर्ने कार्यक्रम रहेको मधेश प्रदेश सरकारका प्रवक्ता एवं गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले जानकारी दिनु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button