सदनलाई मर्यादित बनाउन रास्वपा र राप्रपाका अध्यक्षसँग सभामुख घिमिरेको आग्रह
काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदमा जारी अवरोधबारे आज राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक अध्यक्ष डीपी अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग अलग-अलग छलफल गर्नुभएको छ ।

रास्वपा कार्यवाहक अध्यक्ष अर्यालसँग बानेश्वरस्थित कार्यकक्षमा छलफल गर्दै सभामुख घिमिरेले संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल सुरु गर्नैपर्ने बाध्यता रहेको, अवरोधको स्वरूप बदल्न आग्रह गर्नुभयो ।
सभामुखले सदनलाई मर्यादित बनाउन समेत ध्यानाकर्षण गराउनुभयो । रास्वपा कार्यवाहक अध्यक्ष अर्यालले आफूहरूको अवरोध जारी रहने बताउँदै सांसदलाई मर्यादित बनाउने प्रतिबद्धता जनाउनुभयो ।
गत शुक्रवारको बैठकमा अवरोधका क्रममा संसदीय मर्यादा विपरीतका गतिविधि भएको भन्दै आजै बिहान भएको बैठकमा प्रमुख सचेतकहरूले सभामुखको ध्यानाकर्षण गराउनुभएको थियो ।
सभामुख घिमिरेले अध्यक्ष लिङ्देनलाई पनि संवैधानिक बाध्यता बुझिदिन आग्रह गर्दै संसद्को अवरोध हटाउन आग्रह गर्नुभयो ।
अध्यक्ष लिङ्देनसँग टेलिफोन गर्दै सभामुख घिमिरेले संसदमा आफ्ना विषयलाई राखेर सदन सुचारु गर्ने वातावरण बनाउन सहयोग गर्न आग्रह गर्नुभएको सभामुखको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्