तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय अतिक्रमण रोक्न शुक्लाफाँटा निकुञ्जमा नेपाली सेनाको पोस्ट स्थापना

कञ्चनपुर।कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पन्छी ताल नजिकै नेपाली सेनाको पोस्ट स्थापना गरिएको छ। भारतीय नागरिकले अतिक्रमण गर्दै खेतीपाती गरिरहेको क्षेत्रको सुरक्षा तथा निगरानीका लागि जेठ पहिलो साता उक्त पोस्ट स्थापना गरिएको हो।

निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेका अनुसार सीमा स्तम्भ २७ र २८ को बीचमा रहेको सहायक सीमा स्तम्भ हराएको कारण भारतीय पक्षले करिब ९ सय बिघा जमिनमा खेती गर्दै आएका छन्। गुगल नक्साबाट भने करिब ४ सय बिघा क्षेत्र अतिक्रमण भएको देखिएको छ।

बर्खायाममा बाढीका कारण अतिक्रमण कम हुने गरे पनि हिउँदमा भारतीय नागरिक ट्र्याक्टरसहित आएर गहुँ खेती गर्ने गरेको वाग्लेले बताउनुभयो।

पोस्ट स्थापना गरिएको क्षेत्र दुर्गम भएकाले नियमित गस्ती तथा आवतजावतमा कठिनाइ भएको छ। एक सीमास्तम्भबाट अर्को सीमास्तम्भ पुग्न डेढ घण्टासम्म हिँड्नुपर्ने अवस्था छ। साथै नर्कट र ठूला ढड्डीले गर्दा सुरक्षाकर्मीको बसोबास पनि चुनौतीपूर्ण हुने देखिएको छ।

शुक्लाफाँटा पोस्टबाट करिब ४–५ किलोमिटर टाढा स्थापना गरिएको नयाँ पोस्टमा नेपाली सेनासँगै निकुञ्जका कर्मचारी पनि खटिएका छन्।

निकुञ्जको भनाइ अनुसार सहायक सीमा स्तम्भ नभएकै कारण एसएसबीले पनि सीमांकन नतोकिने भन्दै भारतीय नागरिकलाई खेती रोक्न असहयोग गर्दै आएको छ।

निकुञ्ज क्षेत्रमा भइरहेको अतिक्रमणको विषय संसद्मा समेत उठेपछि जिल्ला प्रशासन, सुरक्षा निकाय र निकुञ्जको टोली संयुक्त रूपमा अतिक्रमित क्षेत्र पुगेको थियो। सहायक सीमा स्तम्भको पुनःस्थापनालाई समाधानको आधार मानेर आवश्यक प्रक्रिया अघि बढाइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button