बाँकेमा न्यायिक समितिको काम प्रभावकारी, डुडुवामा जिल्ला अदालतको निरीक्षण
बाँके। बाँके जिल्लाका स्थानीय तहमा रहेको न्यायिक समितिको सेवा, प्रक्रिया र कार्य प्रभावकारिता बुझ्न जिल्ला अदालतको टोलीले डुडुवा गाउँपालिकाको निरीक्षण गरेको छ।
जिल्ला न्यायाधीश दीपक घिमिरेको नेतृत्वमा पुगेको टोलीले डुडुवा गाउँपालिकाको न्यायिक समितिको काम कारबाही र सेवा प्रवाहको निरीक्षण तथा सरोकारवालासँग छलफल गरेको हो।
उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक शाहिदा बानोले मुद्दा दर्ता, मिसिल व्यवस्थापन, राय तथा निर्णय, फैसला, अभिलेखीकरणलगायत कार्यहरूबारे जानकारी दिनुभयो ।न्यायाधीश घिमिरेले समितिको कार्यशैली, निर्णय प्रक्रिया र अभिलेख व्यवस्थापन व्यवस्थित भएको बताउनुभयो ।
उहाँले न्यायिक समितिको काम उत्कृष्ट रहेको बताउँदै सेवाग्राहीको लागि यो प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
अनुगमन टोलीले समितिका पदाधिकारीलाई अदालती प्रक्रिया, मुद्दा दर्ता, निवेदनको ढाँचा, अभिलेखीकरण लगायतका विषयमा जानकारी गराएको थियो।भेटघाटमा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, उपाध्यक्ष बानो, समिति सदस्य काशीराम यादव, प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार पाण्डेय लगायतको सहभागिता थियो।
न्यायिक शाखाका कर्मचारी विवेक तिवारीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म ८८ वटा मुद्दा दर्ता भएका छन्, जसमध्ये ५८ वटा फर्छ्यौट भइसकेका छन् भने ३० वटा प्रक्रियामा छन्।अदालतको निरीक्षणपछि समितिको कामको विस्तृत प्रतिवेदन तयार पारिने जनाइएको छ।
प्रतिक्रिया राख्नुहोस्