तपाईँ सुन्दै हुनुहुन्छः

संकटमा परम्परागत नाङ्लो पेसा, व्यवसायी चिन्तित

बाजुरा।बाजुरासहित सुदूरपश्चिममा परम्परागत रूपमा प्रचलित निगालोको चोयाबाट नाङ्लो बनाउने पेसा संकटमा परेको छ।

पुस्तौंदेखि नाङ्लो बनाउँदै आएका व्यवसायीहरूले मेहनतअनुसार आम्दानी नहुने र परिवार पाल्न कठिन भएपछि यो पेसा छोड्न थालेका छन्। खप्तड छेडेदह गाउँपालिका–७ का अमर बहादुर रावतले नाङ्लो बनाएर गुजारा चलाउन मुस्किल भएको बताए।

चामल, गहुँ, मकैजस्ता अन्नबाली छानेर सुक्याउन प्रयोग हुने नाङ्लो गाउँ–गाउँमा डोकोमा बोकेर बेच्दा पनि बिक्री नहुने अर्को व्यवसायी प्रकाश रावतले बताउनुभयो।

पछिल्लो समय प्लास्टिकका भाँडाकुँडा सस्तो र सजिलो विकल्पका रूपमा बजारमा चलेपछि निगालोबाट बन्ने सामग्रीप्रति माग घटेको छ।

नाङ्लो, डाला, छाप्रीजस्ता परम्परागत सामग्रीलाई समयअनुसार आधुनिक र व्यवसायिक बनाउन नसक्दा यो पेसा लोपोन्मुख अवस्थामा पुगेको सरोकारवालाहरूको भनाइ छ।

एक समय गाउँमा दर्जनौं परिवार यो पेसामा लागेका थिए, अहिले जिल्लाभर एक–दुई जना मात्र सक्रिय छन्।

स्थानीय व्यवसायीहरूका अनुसार राज्यले अन्य सीपमूलक पेशाजस्तै नाङ्लो निर्माणमा पनि सहयोग र प्रवर्द्धन गरे मात्र यो पेसा जोगिन सक्छ।

नयाँ पुस्ताले पर्याप्त आम्दानी नहुने देखेपछि वैकल्पिक व्यवसाय र वैदेशिक रोजगारी रोज्न थालेका छन्, जसका कारण परम्परागत नाङ्लो पेसा संकटमा परेको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button