तपाईँ सुन्दै हुनुहुन्छः

हुम्ला सदरमुकाम सिमकोटमा खानेपानीको समस्या

हुम्ला । दुई सातादेखि हुम्ला सदरमुकाम सिमकोटमा खानेपानीको समस्या बढ्दै गएको छ । हुमाने खोलामा पानी सुक्दै गएपछि सदरमुकामवासीलाई खानेपानीको समस्या हुन थालेको हो ।

खानेपानी उपभोक्ता समिति सिमकोटका लेखा अधिकृत याङजुम लामाले हुमाने खोलाको पानी सुक्दै गएपछि छाल्ता खोलाबाट सदरमुकामवासीका लागि खानेपानी जडान गरी ल्याए पनि मुख्य मुहान सुकेपछि समस्या चुलिँदै गएको बताउनुभयो । उहाँका अनुसार दुई हप्तायतादेखि पानी सुक्दै गएपछि समस्या भएको हो ।

खोलामा थोरै मात्रामा आएको पानी पनि जमिनमुनि छिरेर जाने गरेको भन्दै छाल्ता खोलाबाट पाइप जडान गरी पानी ल्याउने गरिएको लामाले जानकारी दिनुभयो । त्यही पानी पनि सिमकोटमा रहेका रिजर्भ ट्याङ्की भरिन नसक्दा सर्वसाधारणलाई पालोअनुसार खानेपानीका धारामा वितरण गर्नु परेको उहाँको भनाइ छ । 

गाउँपालिकाले दिएको पाल आज पनि खोला र पाइप भएका स्थानमा बिछ्याउने कार्य भइरहेको छ । सिमकोटमा पाँच सय २६ खानेपानीका ग्राहक छन् । सबै सेवाग्राहीलाई बिहान र बेलुकाको समयमा टोलटोल गरी पालोअनुसार पानी छोड्ने गरिएको उहाँको भनाइ छ । 

खानेपानी नआउँदा सिमकोट तल्लो गाउँ, सूचना टोल लगायत क्षेत्रका नागरिकले टाढा टाढा पुगेर पानी भरेर खानुपर्ने अवस्था आएको गुनासो छ । स्वच्छ पानी अभाव हुँदा पिउने पानीका साथै सरसफाइमा समस्या हुँदै आएको सर्वसाधारणको गुनासो छ । 

केही दिनयतादेखि जिल्ला अस्पतालमा पनि खानेपानीको समस्या हुन थालेको अस्पतालका सिनियर अनमी सरिता बोहराले बताउनुभयो । अस्पतालजस्तो संवेदनशील क्षेत्रमा पनि पानीको समस्या हुनु चिन्ताको विषय भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button