तपाईँ सुन्दै हुनुहुन्छः

‘प्राप्त अधिकारलाई प्रभावकारी कार्यान्वयन गर्न मधेशी समुदाय एकजुट हुनुपर्छ’

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर शाह सुडीले प्राप्त अधिकारलाई संस्थागत गर्दै ती अधिकारको प्रभावकारी कार्यान्वयनका लागि मधेशी समुदाय एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । 

सुडी समाज काठमाडौँ, महिला उपसमितिले आज यहाँ आयोजना गरेको ‘स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क प्रशिक्षण’ कार्यक्रममा उहाँले पहिलेको तुलनामा कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका लगायत राज्यका सबैजसो संरचनामा मधेशी समुदायको सहभागिता बढ्दै गएको उल्लेख गर्दै थप अधिकार प्राप्तिका लागि एकीकृत हुँदै संयुक्त रूपमा लाग्नुपर्ने बताउनुभयो ।

सुडी समाजको विकास, उत्थान र उन्नतिका लागि समुदायका सबै जहाँ भए पनि एकताबद्ध भएर लाग्नुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री सुडीले राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक रूपमा सबल र सशक्त समाज निर्माणका लागि समाजले मार्गदर्शकका रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेतृ तथा प्रतिनिधि सभाका सांसद जुलीकुमारी महतोले मधेशी महिलाको आर्थिक, सामाजिक, राजनीतिक र शैक्षिकसँगै समग्र विकासका लागि राज्यले लगानी गर्नुपर्नेमा जोड दिनुभयो । 

सुडी समाज काठमाडौँका अध्यक्ष शीतल प्रसाद महतोले महिलामा हुने स्तन र पाठेघरको क्यान्सरबारे सचेतना जगाउने उद्देश्यले समाजले ‘क्यान्सरका लक्षण र उपचारबारे डाक्टर संवाद’ कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button