क्षय रोगमुक्त देश बनाउन तीनै तहका सरकारबीच अधिकतम सहकार्य आवश्यक: मन्त्री पौडेल

जनकपुरधाम । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले क्षयरोगमुक्त देश बनाउने अभियान सफल बनाउनका तीनै तहका सरकारका बीचमा अधिकतम सहकार्य आवश्यक भएको बताउनु भएको छ ।
स्वास्थ्यमन्त्री पौडेलले राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरको आयोजनामा क्षयरोग मुक्त नेपाल अभियान कार्यक्रम अन्तर्गत आज जनकपुरधाममा आयोजना गरिएको दुई दिने प्रदेश स्तरीय समीक्षा कार्यक्रममा बोल्दै सो कुरा बताउनु भएको हो ।
उहाँले भारतसँग सीमाना जोडिएको मधेश प्रदेशका जिल्लाहरूमा क्षयरोगको नियन्त्रण कठिन हुने भएकाले भारतीय सीमासँग जोडिएको भारतीय क्षेत्रका प्रशासनसँग सहकार्य गरेर प्रभावकारी नियन्त्रण तथा खोजतलास गर्न सकिने बताउनु भयो ।
स्वास्थ्यमन्त्री पौडेलले सङ्घीयतालाई तीन देश जस्तै हेर्ने दृष्टि नै गलत भएको बताउँदै सबैको मूल धेय नै नेपाल र नेपाली जनता भएकाले यसलाई नै आधार बनाएर स्वास्थ्य सहित सबै क्षेत्रमा काम गर्नुको कुनै विकल्प नभएको बताउनु भयो ।
उहाँले देशमा साधन श्रोतको अभाव हुँदा हुँदै पनि स्वास्थ्य क्षेत्रमा ४ प्रतिशत बजेट भएको बताउँदै स्वास्थ्यका सबै समस्या समाधान गर्न कठिन भएको भएपनि स्वास्थ्य क्षेत्रका जनशक्तिलाई उत्साहित गरेर मन्त्रालयले थोरै काम अगाडी बढाइरहेको बताउनु भयो ।

स्वास्थ्यमन्त्री पौडेलले सरकारी स्वास्थ्य संस्थामा सेवाग्राहीको भिड बढ्नु नै सरकारी स्वास्थ्य प्रतिको जनविश्वास बढ्नु रहेको बताउँदै क्षय रोग जस्ता रोगको उन्मूलनका लागि सबैको साथ र सहयोग आवश्यक भएको बताउनु भयो ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. अंकुर साहले मधेशमा अत्यधिक मात्रामा जनसङ्ख्या भएका कारणले स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्नका लागि मधेश स्वास्थ्य विज्ञानको प्रयासले मात्र स्वास्थ्यको सम्पूर्ण समस्याहरूको समाधान कठिन हुने बताउनु भयो ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले स्वास्थ्य क्षेत्रमा सङ्घीयताको राम्रो अभ्यास भएपनि स्वास्थ्य क्षेत्रको समस्याहरू बढ्दो भएकाले प्रदेश तथा स्थानीय तहले मात्र समस्याको समाधान गर्न कठिन हुने बताउनु भयो ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. श्रीराम तिवारीले क्षयरोगमुक्त नेपाल बनाउनका लागि मधेश प्रदेशका २५ वटा पालिकामा क्षयमुक्त पालिका बनाउने अभियान चलाई रहेको बताउँदै गत वर्ष नेपालमा फेला परेका ४० हजार ७ सय ७६ नयाँ क्षयरोगीको उपचार गर्ने काम भइरहेको बताउनु भयो ।
कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निमित्त सचिव राजेश कुमार मिश्र, धनुषाका स्वास्थ्य कार्यालयका प्रमुख, जनस्वास्थ्य प्रशासक उमेश कुमार यादव, क्षयरोग नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको नुरा हेल्थका नेपाल निर्देशक डा. सुशील कोइराला सहितले बोल्नु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्