तपाईँ सुन्दै हुनुहुन्छः

५३ वर्षमा स्नातक अध्ययन सुरु गर्दै वडा अध्यक्ष खनाल, बिचमा पढाइ छाडेकाहरूलाई दिए प्रेरणा

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–१ का वडा अध्यक्ष शिवप्रसाद खनालले ५३ वर्षको उमेरमा स्नातक तहमा भर्ना भएर औपचारिक अध्ययन पुनः सुरु गर्नुभएको छ।

समाज सेवा र राजनीतिसँगै शिक्षा आवश्यक रहेको महसुस गर्दै उहाँले फेरि पढाइलाई निरन्तरता दिनुभएको हो।

खनालले २०४८ सालमा एसएलसी पास गर्नुभएको थियो। त्यसपछि विभिन्न जिम्मेवारीका कारण औपचारिक शिक्षा छोड्नु परेको उहाँ बताउनुहुन्छ। तर शिक्षा प्रतिको चाहना कहिल्यै मरेन।

“मेरो पढ्ने रहर त थियो, तर पारिवारिक दायित्व र सामाजिक भूमिकाले रोकेको थियो। अब शिक्षा बिना समाज रूपान्तरण सम्भव छैन भन्ने बुझेपछि फेरि कापी कलम समातेको हुँ,” उहाँले भन्नुभयो

उहाँले आफैँ अध्यक्ष रहनुभएको वालजीवनज्योति माध्यमिक विद्यालयमा कक्षा ११ भर्ना भएर प्लस टु अध्ययन पूरा गर्नुभयो। अहिले उहाँ हेटौँडा–१९ स्थित निर्मल बहुमुखी क्याम्पसमा स्नातक तहको पहिलो वर्षमा नियमित विद्यार्थीको रूपमा भर्ना हुनुभएको छ।

शिक्षा र जनसेवा सँगसँगै
२०७४ र २०७९ सालमा नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षमा निर्वाचित खनालले जनप्रतिनिधिका रूपमा जनताको सेवामा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ। अब पढाइ र जनसेवा दुबैलाई सँगसँगै लैजाने अठोट उहाँको छ।

कलेजबाट स्वागत
निर्मल बहुमुखी क्याम्पसमा आयोजित एक विशेष कार्यक्रममा खनाललाई स्वागतसहित भर्ना गरिएको हो। कार्यक्रममा क्याम्पस प्रमुख सुवासचन्द्र कँडेलले खनालजस्ता प्रौढ विद्यार्थीहरूको उपस्थितिले शिक्षा क्षेत्रमा प्रेरणा थपिएको बताउनुभयो।

क्याम्पस सञ्चालक समिति अध्यक्ष राजकुमार भेटवालको अध्यक्षता र वडा अध्यक्ष नरनाथ सुबेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सुबेदीले कलेजमा भर्ना हुने नियमित विद्यार्थीहरूलाई छात्रवृत्ति दिने घोषणा गर्नुभयो।

“शिक्षामा लगानी गर्नु भनेको भविष्य निर्माण गर्नु हो। खनालजस्तो जनप्रतिनिधिको सहभागिताले अरूलाई पनि पढ्न हौसला मिल्नेछ,” वडा अध्यक्ष नरनाथ सुबेदीले भन्नुभयो

प्रेरणाको स्रोत
वडा अध्यक्ष खनालको पहलले बिचमै पढाइ छाडेका वा जीवनका बिचमा अध्ययन गर्न चाहने धेरैलाई उमेरको अवरोध तोडेर अगाडि बढ्न प्रेरणा दिने विश्वास गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button