तपाईँ सुन्दै हुनुहुन्छः

देउखुरीको वनघुस्री-गढवा सडक विस्तारमा ढिलासुस्ती: ठेक्का तोड्ने प्रक्रिया सुरु

दाङ। देउखुरीको वनघुस्रीदेखि गढवासम्मको २० किलोमिटर सडक विस्तार र कालोपत्रे गर्न २०७६ कात्तिक २९ गते बज्रगुरु कान्छाराम जेभीसँग ६५ करोड रुपैयाँको ठेक्का सम्झौता भएको थियो। तर, सम्झौता अनुसार २०७९ कात्तिकसम्म निर्माण सकिनुपर्ने उक्त सडकको हालसम्म भौतिक प्रगति ४५ प्रतिशत र वित्तीय प्रगति ४० प्रतिशत मात्र रहेको हुलाकी राजमार्ग आयोजना नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिनुभयो।

ठेक्काको म्याद २०८२ असार मसान्तमा सकिँदैछ। तर, निर्माण कार्यको गति सुस्त भएको भन्दै आयोजना कार्यालयले ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाएको हो। प्रमुख भण्डारीका अनुसार आयोजनाले विभागमार्फत हुलाकी सडक निर्देशनालयमा फाइल पठाइसकेको छ। “निर्माण कम्पनीले अहिले पनि काम गर्छु भन्छ, तर विश्वास गर्न सकिने अवस्था छैन,” उहाँले भन्नुभयो।

हालसम्म २० किलोमिटरमध्ये नौ किलोमिटर मात्रै कालोपत्रे भएको छ, त्यो पनि दुई लेयर आवश्यक पर्नेमा एक लेयर मात्र गरिएको हो। गढवा बजारतर्फ साढे चार किलोमिटर र कालाकाँटे क्षेत्रमा चार किलोमिटर सडकको काम अझै बाँकी छ।

इन्जिनियर श्रवणकुमार महतराका अनुसार तीन वर्षमा सकिनुपर्ने सडक निर्माण कार्य चरम ढिलाइका कारण अझै अधुरो छ। यद्यपि निर्माण कम्पनीले आवश्यक सामग्री ल्याइसकेको र मौसमले साथ दिए साउन–भदौभित्र काम सक्ने दाबी गरेको छ।

यसैबीच, गढवा–गंगदी खण्डको अर्को २० किलोमिटर सडक भने एपेक्स कन्काई खड्का कृष्ण प्रालिले ६९ करोड लागतमा निर्माण गरिसकेको छ। म्याद एक पटक थपेर २०८० साउन १० गते काम सम्पन्न भएको हो।

हुलाकी सडक आयोजनाले राजपुरको गंगदीदेखि दाङको हाडबाससम्मको अर्को २० किलोमिटर सडकका लागि प्रारम्भिक वातावरणीय परीक्षण सम्पन्न गरिसकेको छ। बहुवर्षीय बजेट सुनिश्चित भए दुई वर्षमा निर्माण सक्ने गरी ठेक्का प्रक्रिया सुरु गरिने बताइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button