नेपालगञ्जमा मेयर कप नगरस्तरीय भलिबल प्रतियोगिता सुरु
बाँके। नेपालगञ्जमा मेयर कप नगरस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। पूर्व खेलाडी समाज बाँकेको आयोजना रहेको प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ।
प्रतियोगितामा नेपालगञ्जका १३ माध्यमिक विद्यालयका १० छात्र तथा १० छात्रा टिम गरी २० टिम सहभागी छन्। खेल नकआउट प्रणालीमा सञ्चालन भइरहेको छ।
पूर्व खेलाडी समाज बाँकेका सचिव नरेन्द्र थापाका अनुसार प्रथम टिमले नगद रु २० हजार, दोस्रोले रु १५ हजार र तेस्रो टिमले रु १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
उपमेयर कमरुद्दिन राईले प्रतियोगिताको उद्घाटन गर्दै खेलाडीहरूले अन्तर्राष्ट्रियस्तरमा राष्ट्रको नाम र पहिचान बढाएको बताए। उनले यस्ता प्रतियोगिता निरन्तर आयोजना हुनुपर्नेमा जोड दिए।
कार्यक्रम पूर्व खेलाडी समाज बाँकेका कार्यवाहक अध्यक्ष निजामुद्धिन सिद्धिकीको अध्यक्षतामा सम्पन्न भयो। महासचिव जयन्त कुमार शर्मा र सदस्य आशा बिष्टले प्रतियोगिताको उद्देश्यबारे प्रकाश पारेका थिए।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, वडा नं. २ का अध्यक्ष मनोज श्रेष्ठ, रेडक्रस बाँकेका सभापति गोबर्द्धन सिंह सम्झना, काँग्रेस बाँकेका सचिव सुधान्शु कोइराला, पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष निरज गौतम लगायतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया राख्नुहोस्