नेपालगञ्जमा लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टर सञ्चालनमा
बाँके। नेपालगञ्जमा लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टर सञ्चालनमा आएको छ। करिब ६० लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त सेन्टरलाई जनमुखी बनाइने सञ्चालकले जनाएका छन्।
सेन्टरको उद्घाटन गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव, नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाह र नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले संयुक्त रूपमा गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि यादवले वैदेशिक रोजगार बजारमा नेपाली कामदारको इमानदारी र मेहनतको माग उच्च रहेको उल्लेख गर्दै दक्ष जनशक्ति उत्पादनका लागि नगरपालिकाले सेन्टरसँग समन्वय गर्ने प्रतिबद्धता जनाए। अध्यक्ष शाहले सीपसहित विदेश जान सकेमा राम्रो पारिश्रमिक पाइने र जोखिम कम हुने भन्दै युवालाई सीपमूलक तालिम आवश्यक रहेको बताए।
सेन्टरका निर्देशक भोदुराम थारुले तालिम र रोजगारीलाई जोड्ने उद्देश्यसहित केन्द्र अगाडि बढेको जानकारी दिए। नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले तालिम नपाएको कारण विदेश गएकाहरूले रोजगारीमा कठिनाइ भोगिरहेको भन्दै आगामी आर्थिक वर्षमा बजेट छुट्याएर तालिम सञ्चालन गरिने जानकारी दिए।
कार्यक्रममा नेकपा माओवादी केन्द्रकी नेता मिना मल्ल पुन, मधुवन नगरपालिकाका पूर्व मेयर कृष्ण केसी, विभिन्न सुरक्षा निकायका प्रतिनिधि, जनप्रतिनिधि, समाजसेवी, पत्रकार तथा अन्य सहभागीले सीप विकास र सहकार्यको आवश्यकता औँल्याएका थिए।

उक्त अवसरमा बाँकेबाट सरुवा भएका राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक ओम खण्डकालाई लियानाले मायाको चिनो प्रदान गरेको थियो।
सेन्टरमा आधुनिक प्रविधियुक्त कक्षा, केयरगिभर तालिमका लागि प्रयोगशाला, बारिस्टा र सेफसहितको रेस्टुरेन्ट कोठा रहेको छ। कक्षा कोठामा २० देखि २५ जनासम्म प्रशिक्षार्थी अट्नसक्ने क्षमता रहेको सेन्टरका सीईओ अभिषेक थारुले जानकारी दिए।
प्रतिक्रिया राख्नुहोस्