तपाईँ सुन्दै हुनुहुन्छः

‘हिमाल नेपालको गौरव र प्राकृतिक सम्पत्ति हुन्’

काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमाल नेपालीका लागि गौरव र महत्त्वपूर्ण प्राकृतिक सम्पत्ति भएको बताउनुभएको छ ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटन: हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनी अवलोकनपछि उहाँले नेपालका अमूल्य निधिका रुपमा रहेका हिमाललगायतका प्राकृतिक र सांस्कृतिक धरोहरको महत्वबारे युवा पुस्तालाई बुझाउन आवश्यक रहेको धारणा राख्नुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, “राससले नयाँ ढङ्गले हिमाल र पहाडका महत्त्वपूर्ण पर्यटकीय गन्तव्यस्थल चिनारी गराउन तस्बिर प्रदर्शनी गरेको छ, यो रचनात्मक र राष्ट्रहितका कार्य हुन भन्ने ठान्छु ।”

सोही पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले हिमालसहित बहुविधामा आधारित तस्बिर प्रदर्शनी आफैँमा सकारात्मक र रचनात्मक भएको प्रतिक्रिया दिनुभयो । हिमाल केन्द्रित प्रदर्शनी सूचना प्राप्ति र ज्ञान वृद्धिका हिसाबले महत्त्वपूर्ण रहेकाले युवा पुस्तालाई आफू, आफ्ना पुस्ता, संस्कृति,  गाउँ र देश चिनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

प्रचार विभाग प्रमुख गौतमले भन्नुभयो, “हामी कुन ठाउँबाट सङ्घर्ष गर्दै यो ठाउँमा आइपुगेका हौँ, हाम्रा सम्पदा, संस्कृति र भूगोल  के हुन् रु भन्ने युवा पुस्तामा बुझ्ने तदारुकता कमजोर देखेको छु, उनीहरूका लागि यो प्रदर्शनी ज्ञान आर्जन गर्ने थलो हुन सक्छ ।”

आफ्नो राष्ट्रलाई बलियो र समृद्ध बनाएमा विदेशमा रहँदा बेग्लै सम्मान पाइने हेक्का राख्न युवा वर्गलाई  उहाँले सुझाव दिनुभयो ।

त्यसैगरी प्रेस चौतारी नेपालका उपाध्यक्ष चेतन अधिकारीले तस्बिर प्रदर्शनीले पर्वतीय पर्यटनबारे जान्न र प्रचारप्रसारमा टेवा पुर्याउने उल्लेख गर्नुभयो । उहाँले यस्ता प्रदर्शनीमा राखिएका तस्बिरबाट जलवायु सङ्कट अघिपछि  पर्वतीय शृङ्खलाहरूको अवस्थाको अभिलेखीकरण हुने बताउनुभयो ।

“यो प्रदर्शनीको अवलोकनपछि हिमाल हेर्न जाउँजाउँ लाग्ने रहेछ । यी ठाँउहरुमा पर्यटक आकर्षित गर्न सहयोग पुग्नेछ । पर्वतीय भूभागमा जान नसक्नेका लागि सजीव दृश्य पनि यस प्रदर्शनीले प्रस्तुत गरेको छ”, उहाँले भन्नुभयो ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले उहाँहरूलाई स्वागत गर्नुभएको थियो । यही जेठ ११ गतेदेखि आयोजित प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन, प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ वटा तस्बिर समावेश गरिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button