कबिर दिवसमा प्रदेश सरकारद्वारा सार्वजनिक बिदा, १५ जोडीको दाइजोमुक्त विवाह
जनकपुरधाम । मधेश प्रदेश सरकारले समाज सुधारमा विशेष योगदान दिएको भन्दै कबिर जयन्तीमा आज सार्वजनिक बिदा दिएको छ ।

मधेश प्रदेशमा आज सद्गुरु कबीर दासको ६२७ औँ जन्म जयन्तीको अवसरमा सार्वजनिक बिदा दिइएको छ । मधेश सरकारले पहिलो पटक कबीर प्रति सम्मान गर्न सार्वजनिक बिदा घोषणा गरेको हो ।
कबिर पन्थीहरूले सद्कबीर सन् १३९८ (संवत् १४५५) जेठ महिनाको पूर्णिमा दिन ब्रह्म मुहूर्तको समयमा लहरतारा तालमा फुलेको कमलको फूलबाट प्रकट हुनुभएको विषयमा विश्वास गर्ने गरेका छन् ।
कबिर प्रकट भएको ठाउँबाट नीरु र नीमा नाम गरेका एक साधारण दम्पतीले उहाँलाई घर लगेका थिए । उनका अनुयायीहरू यस दिनलाई कबीर प्राकट्य दिवसको रूपमा मनाउने गर्छन् ।
मधेश सरकारले पहिलोपटक सार्वजनिक बिदा दिएको खुसीमा कबिर पन्थीहरूले जनकपुरमा र्याली आयोजन गरेका थिए । जनकपुरको सद्गुरु कबीर बालबात्सल्य आश्रमबाट सञ्चालक सत्यनारायण आलोकको नेतृत्वमा निस्केको र्यालीले जनकपुरका विभिन्न भागको परिक्रमा गरेको थियो ।
कार्यक्रममा मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री सञ्जयकुमार यादव सहभागी हुनुभएको थियो । यसलाई कबिर पन्थीहरूले विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइरहेका छन् ।
यसै अवसरमा मिथिला नगरपालिका वडा नंं २ बेलाचापीस्थित सतलोक आश्रममा कबीर प्रकट दिवसको अवसर पारेर १५ जोडीको दाइजोमुक्त सामूहिक विवाह सम्पन्न भएको छ ।
प्रतिक्रिया राख्नुहोस्