सरकारी सञ्चार माध्यमहरूमा भोट भाषाको समाचार सेवा सुरु गरिदिन नेपाल बौद्ध महासङ्घको आग्रह
काठमाडौँ । नेपाल बौद्ध महासङ्घले सरकारी सञ्चार माध्यमहरूमा भोट भाषामा समाचार, सूचना तथा कार्यक्रम उत्पादन तथा प्रसारण व्यवस्था गरिदिन ध्यानाकर्षण गराएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष आज ज्ञापन पत्र हस्तान्तरण गर्दै महासङ्घले गोरखापत्र, रेडियो नेपाल तथा नेपाल टेलिभिजन जस्ता राष्ट्रिय प्रसारण सेवामार्फत भोट भाषामा समाचार, सूचना तथा कार्यक्रम उत्पादन तथा प्रसारण व्यवस्थाको लागि पहल गरिदिनु हुन आग्रह गरेको हो ।
मन्त्री गुरुङकै कार्यकालमा सकारात्मक पहलको साथै आवश्यक नीति तथा कार्यक्रम ल्याई कार्यान्वयन गराई दिनुहुन ध्यानाकर्षण गराएको महासङ्घका अध्यक्ष नुर्बु थुन्डु शेर्पा (गेशे थुप्तेन जिन्पा) ले बताउनुभयो । ज्ञापन पत्रमा नेपाल बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक राष्ट्र भएकोले विविधतायुक्त समुदायहरूको भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्धन गर्नु राज्यको संवैधानिक दायित्व रहेको उल्लेख छ ।
हाल नेपालमा सञ्चालित गोन्पा शिक्षाको सन्दर्भमा, वि.सं. २०६५ सालदेखि पाठ्यक्रम विकास केन्द्रबाट सम्भोट लिपि, भोट भाषामा रहेका विषयहरू माध्यमिक तहसम्मको पाठ्यक्रम तथा पाठ्यपुस्तक विकास गरिएको छ, जसको पठनपाठन नेपालका विभिन्न जिल्लाका गोन्पा तथा सामुदायिक विद्यालयहरूमा भइरहेको छ ।
विश्वविद्यालय स्तरमा लुम्बिनी बौद्ध विश्वविद्यालयमा भोट बौद्ध अध्ययन विभाग स्थापना गरी वि.सं. २०७६ भदौ २० गतेबाट स्नातक र स्नातकोत्तर तहमा भोट भाषाको माध्यमबाट बौद्ध शास्त्रहरूको प्राज्ञिक अध्ययन अध्यापन भइरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्