तपाईँ सुन्दै हुनुहुन्छः

टेम्पो दुर्घटनामा एकको मृत्यु, तीन गम्भीर घाइते

सोलुखुम्बु । सोलुखुम्बुको सल्लेरीबाट ओखलढुङ्गातर्फ गइरहेको अटोरिक्सा (टेम्पो) आज दुर्घटनामा परेको छ । 

सोलुदूधकुण्ड नगरपालिका–८ स्थित सिकारी डाँडामा दुर्घटनाग्रस्त हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिनुभयो ।

टेम्पो अनियन्त्रित भई सडकबाट झण्डै १५० मिटर तल खसेको थियो । दुर्घटनामा अन्दाजी २५ देखि ३० वर्षका एक पुरुषको घटनास्थलमै ज्यान गएको हो । घाइते भएका अन्य तीन जना पुरुषको अवस्था गम्भीर भए पनि खतरा बाहिर रहेको उहाँले बताउनुभयो ।

घाइतेमध्ये टेम्पो चालक राजेश विक पनि गम्भीर घाइते भएको जनाइएको छ । प्रहरी निरीक्षक विकास राई सहित घटनास्थलमा पुगेको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि सल्लेरीस्थित फाप्लु अस्पतालमा पठाइएको छ ।

टेम्पो किन अनियन्त्रित भयो भन्ने विषयमा प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक र घाइतेहरूको विस्तृत विवरण र परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button