विपद् जोखिम न्यूनीकरणमा सेना अग्रपङ्क्तिमा, इलाममा सुरु भयो अभ्यास मनसुन

इलाम । नजिकिँदै गरेको मनसुनको समयमा सम्भावित मनसुनजन्य विपद्का घटनामा प्रभावकारी रूपमा परिचालन भई जनधनको क्षति न्यूनीकरण तथा उद्धार र राहत वितरण कार्य प्रभावकारी बनाउन लक्षित “अभ्यास मनसुन” अन्तर्गत नेपाली सेनाले माईजोगमाई गाउँपालिका–४ नाम्सालिङमा जनचेतनामूलक कार्यक्रम तथा डेमो प्रदर्शन गरेको छ।
श्री रणशार्दूल गण, गढीथुम्का द्वारा आयोजित उक्त अभ्यास श्री नेपाल ज्योति माध्यमिक विद्यालयमा सम्पन्न भएको हो। कार्यक्रममा खाना पकाउने एलपी ग्यासको सुरक्षात्मक प्रयोग, फायर एक्सटिङ्गुइसरको प्रयोग विधि, फायर बलको प्रभाव, इम्प्रोभाइज स्ट्रेचर, पर्सनल फ्लोटिङ डिभाइसजस्ता सामग्रीको तयारी तथा प्रयोगबारे सहभागीहरूलाई व्यावहारिक रूपमा जानकारी दिइएको थियो।

जनचेतनामूलक सो कार्यक्रममा स्थानीय बासिन्दा, विद्यालयका शिक्षक–शिक्षिका तथा करिब १५० जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमको समापनमा श्री रणशार्दूल गणका इलामको गणपति प्रलाद घलेले विपद् व्यवस्थापनमा नेपाली सेनाको भूमिका, तयारी र तत्परताबारे प्रकाश पार्नुभएको थियो। उहाँले विपद्का समयमा सेना केवल उद्धार र राहत मात्र नभई जनसुरक्षा र समन्वयमा पनि अग्रपङ्क्तिमा रहेको स्पष्ट पार्नुभयो।
नेपाली सेनाको यस्तो अभ्यासले विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्नुका साथै स्थानीय तहमा सचेतना फैलाउने कार्यमा सघाउ पुगेको सहभागीहरूले बताएका छन्।
प्रतिक्रिया राख्नुहोस्